
कोशी प्रदेशमा नयाँ सरकार गठनको विषयमा नेकपा माओवादीभित्र चरम असन्तुष्टि देखिएको छ । दुई पटक चुनाव जितेर आएकालाई भन्दा नयाँलाई मन्त्री बनाएपछि माओवादी भित्र तीव्र विवाद देखिएको हो ।
दुई/दुई पटक चुनाव जितेर आउँदा पनि मन्त्री नबनाएको भन्दै नारायण बुर्जा मगरले प्रदेशसभा सदस्य पदबाटै राजीनामा दिने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीमा दुई/दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मूल्याङ्कन गर्न नसकेको भन्दै उनले कोशी प्रदेश सरकार गठनप्रति असन्तुष्टि पोखेका छन् ।
बिहीवार मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापाले शुक्रवार र आइतवार गरेर मन्त्रिमण्डल विस्तार गरेका थिए । शुक्रवार नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जगेबु र नेपाली कांग्रेसका प्रदीप सुनुवारलाई मन्त्री बनाएका थिए ।
यस्तै, आइतवार माओवादी केन्द्रका जीवन आचार्य (प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ) र राजेन्द्र कार्की तथा कांग्रेसका रामकुमार खत्रीलाई मन्त्री नियुक्त गरेका थिए ।
बिहीवार सत्ता गठबन्धनका एक/एक जनालाई मन्त्रीमा पठाउने गठबन्धनका नेताहरू बसेर सहमति गरेका थिए । तर माओवादी भित्र २ जनाको सिफारिस भएपछि कांग्रेसले एक जनाको नाम थपेर पठाएको थियो ।
एकीकृत समाजवादी पनि सरकार गठनप्रति रुष्ट बनेको छ । थापा नेतृत्वको सरकारले पेल्न खोजे विश्वासको मत नदिने समाजवादीको चेतावनी छ । एकीकृत समाजावदी संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री थापाको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।
मन्त्रीहरूको शपथमा समेत राई उपस्थित भएनन् । मुख्यमन्त्री थापाको फोन समेत उनले नउठाएका स्रोतले बतायो । स्रोतका अनुसार मन्त्री कमल जगेबुको फोनमार्फत थापाले राईसँग सम्वाद गरेपछि मात्रै शपथ ग्रहण अगाडि बढेको थियो ।
कसलाई मन्त्री बनाउने भन्ने विषयमा विवाद हुँदा शुक्रवार माओवादीले कसैको पनि नाम पठाएन ।
आइतवार बिहान आचार्य र कार्कीले शपथ लिएका थिए । दुई दिनसम्म भएको छलफलमा आचार्यको नेतृत्वमा नारायण बुर्जा सरकारमा जाने सहमति भएको माओवादीका सांसदहरूले बताएका छन् ।
‘आचार्यको पक्षमा हेडक्वार्टरबाटै कुरा आइहाल्यो । राजेन्द्र कमरेडको पक्षमा राम कार्कीले बल गर्नुभयो । बुर्जाको पक्षमा कोही भएनन्’ माओवादीका एक प्रदेशसभा सदस्यले भने ।
राम कार्की माओवादीका केन्द्रीय सचिव हुन् भने प्रदेशका इन्चार्ज पनि हुन् ।
संखुवासभाबाट निर्वाचित भएका कार्की भने एमालेसँग मिलेर सरकार बनाउनु पर्ने पक्षमा थिए । स्रोतका अनुसार उनले थापा नेतृत्वको सरकारमा नजाने बताएका थिए । तर अन्तिम समयमा मन्त्री हुन उनले जोडबल गरेका थिए ।
माओवादी सांसदका अनुसार शनिवार बसेको संसदीय दलको बैठकले जीवन आचार्य र नारायण बुर्जा मगरलाई सरकारमा पठाउने सहमति गरेको थियो । तर रातारात नाम परिवर्तन भएपछि बुर्जा असन्तुष्ट बनेका हुन् ।
उनले लेखेका छन् ‘आदरणीय आम जनसमुदाय । म र मेरो मतदातामाथि बारम्बार अन्याय भयो । दुई/दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मूल्याङ्कन गर्न सकेन, कोशी प्रदेश सरकार गठनप्रति मेरो विमति छ । यसै कुरालाई मध्यनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट समेत राजीनामा दिने मनसाय बनाई सकेको छु । धन्यवाद !’ उनी उदयपुर निर्वाचन क्षेत्र नं.२ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।