स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बनेकी छन् ।
उनले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको १ हप्ते अचार बनाउने तालिम लिएकी थिइन् । उनी आत्मनिर्भर मात्र बनेकी छैनन्, प्रशिक्षकका रूपमा विभिन्न ठाउँमा महिलालाई अचार बनाउने तालिम समेत दिँदै आएकी छन् ।
तालिम लिएपछि उनले पाठक अचार उद्योग दर्ता गरेर व्यावसायिक रूपमा अचार बनाउन थालिन् । उनले ६० हजार रुपैयाँबाट शुरू गरेको अचार उद्योगको लगानी हाल ५ लाख पुगेको बताइन् ।
चुलोचौकोमा सीमित पाठकको दिनचर्या अचार उद्योग सञ्चालनपश्चात् फेरिएको छ । उनी बिहान सबेरै उठ्छिन् । अचारका लागि विभिन्न कच्चापदार्थ चक्कुको सहायताले टुक्रा पार्छिन् । मसला र तेलमा कच्चा पदार्थ राम्ररी मोल्छिन् । दिउँसोपख छोरीबुुहारीको सहयोग लिएर मोलेर राखेको अचार बट्टामा खाध्छिन् ।
कसैले अचार खाँद्ने, कसैले सिल्लर गर्ने, कसैले स्टिकर टाँस्ने, कसैले प्लास्टिकले लेप गर्ने उनीहरूको दिनचर्या हो ।
‘उद्योग सञ्चालनपश्चात् कोरोना कोरोनाको मारमा परियो, बिक्रीका लागि ठिक्क पारेका अचार स्टोरमै थन्काउनुपर्ने भयो,’ मायाले भनिन्, ‘व्यवसाय छोडौं कि निरन्तरता दिउँ भन्ने दोधार मनका बीच व्यवसायलाई यहाँसम्म ल्याएकी छु, अहिले राम्रो हुँदै गएको छ ।’
उनले आफूले उत्पादन गरेको अचारबाट वार्षिक साढे २ देखि ५ लाख आम्दानी गर्ने गरेको बताइन् । ‘भान्साको गहनाका रूपमा लिइने अचार सबै स्वस्थ व्यक्तिका लागि लोकप्रिय छ,’ उनले भनिन्, ‘अचार गुणस्तरीय र स्वादिलो भए पनि ठूलो परिणाममा उत्पादन गर्दा बजारीकरणमा समस्या छ ।’
उनले बजारीकरणको राम्रो व्यवस्था भए अझै २–४ जनालाई रोजगार दिन सक्ने दाबी गरिन् ।
उनको उद्योगको अचार गल्याङ, वालिङ, पाल्पा बुटवल लगायतका स्थानमा थोक तथा खुद्रा बिक्री हुने गरेको छ । उद्योगमा लप्सी, अमला, गुन्द्रुकभट्ट, अकबरे खुर्सानी, डल्ले खुर्सानी, हरिया र सुकेका खुर्सानी, तामा, कागती, लसुन, आँप, मिक्स, गाँजर मुला लगायतका अचार उत्पादन हुने गरेका छन् । यहाँ उत्पादितमध्ये लप्सी, लसुन, अकबरे खुर्सानी र कटहरको अचार अत्यधिक लोकप्रिय छन् ।