
गोरखा जिल्लाका ५ स्थानीय तहको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट स्वीकृत भएको छ ।
जिल्लाको बारपाक सुलिकोट, अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो ।
बारपाक सुलिकोटले आगामी आव २०८०/०८१ का लागि कूल ६० करोड ३९ लाख ६९ हजार रुपैयाँ बराबरको बजेट गाउँ सभाबाट स्वीकृत गरिसकेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
सहिद लखनले ६३ करोड २० लाख १० हजार बराबरको बजेट गाउँ सभाबाट स्वीकृत गरेको छ भने सिरानचोकले असार ७९ करोड ८४ लाख ५५ हजार ६०० रुपैयाँ बराबरको बजेट घोषणा गरी पारित गरेको गाउँपालिकाले जनाएको छ । जिल्लाको अजिरकोटले आगामी आवका लागि ४९ करोड ३४ लाख ९३ हजार बराबरको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । भीमसेन थापाले ५५ करोड ८४ लाख ३० हजार ४०० रुपैयाँको बजेट ल्याएको छ ।
गाउँपालिकाले असार १० गते नीति तथा कार्यक्रम र बजेट एकैदिन गाउँसभाबाट स्वीकृत गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बङ्जरा ‘अक्कल’ले जानकारी दिए । ५ वटै स्थानीय तहहरूले असार १० गतेभित्रै आगामी आवको बजेट नीति तथा कार्यक्रम पारित गरेका हुन् ।
जिल्लाको ११ स्थानीय तहमध्ये ६ स्थानीय तहको बजेट भने स्वीकृत गर्न बाँकी रहेको छ । गोरखा र पालुङटार नगरपालिका, आरुघाट, चुमनुब्री, धार्चे र गण्डकी गाउँपालिकाको बजेट पारित हुन बाँकी रहेको छ ।