१९ असार २०८३, शुक्रबार

डेङ्गीको सङ्क्रमण फैलिन नदिन विज्ञहरूको सुझाव

असार २५, २०८०
काठमाडौं
डेङ्गीको सङ्क्रमण फैलिन नदिन विज्ञहरूको सुझाव

पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेङ्गीको सङ्क्रमणबाट बच्न विज्ञहरूले सुझाव दिएका छन् ।

आज  ‘डेङ्गी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा’ सम्बन्धी अन्तरक्रियामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गीको सङ्क्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराए । डेङ्गी सङक्रमणको तथ्याङ्क प्रस्तुत गर्दै उनले भने, “असार २३ गतेसम्म एक हजार एक सय ९२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । महामारी जतिबेला पनि फैलिन सक्छ । महामारी फैलिन नदिन हामी सबैले डेङ्गी नियन्त्रण र रोकथामका लागि प्रयास बढाउनुपर्छ ।”

उनका अनुसार तथ्याङ्कमा समावेश हुन नसकेका सङ्क्रमितको सङ्ख्या धेरै छ । “हाम्रो रेकर्डमा धेरै रिपोर्टिङ भएको छैन । लक्षण नदेखिएका बिरामी बाहेक निजी अस्पताल वा स्वास्थ्य संस्थामा जाने बिरामीको सङ्ख्या तथ्याङ्कमा समावेश हुन सकेको छैन । त्यसकारण पनि सङ्क्रमितको सङ्ख्या तथ्याङ्कमा भन्दा धेरै भएको हाम्रो आकलन हो”, उनले भने ।  

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले विभागले तीनै तहको सरकारसँग डेङ्गी नियन्त्रणका लागि सहकार्य गरिरहेको बताए । उनले डेङ्गीको सङ्क्रमण बढ्दै गए पनि सामान्य दैनिकीमा ख्याल गर्दा यसको जोखिम कम हुने बताए । उनले भने, “घर होस् वा कार्यालयमा डेङ्गी सङ्क्रमण फैलाउने लामखुट्टेको फुल पार्न सक्ने ठाउँ नष्ट गर्ने तथा गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने ।” 

एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल सङ्क्रमण, डेङ्गीको सेरोटाइप प्रत्येक वर्ष परिवर्तन हुने गरेको छ । एडिस जातको लामखुट्टेको अण्डा एक वर्षसम्म जीवित रहन्छ । यो लामखुट्टे दिउँसोको समयमा समेत बढी सक्रिय हुने गर्दछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय तहका सरकारसँगै सरोकारवाला निकायसँगको सहकार्यमा ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्