२७ असार २०८३, शनिबार

मेयर बालेन आएपछि खुल्यो २० वर्षदेखि खुल्न नसकेको सडक

असार २६, २०८०
काठमाडौं
मेयर बालेन आएपछि खुल्यो २० वर्षदेखि खुल्न नसकेको सडक

नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्ड भित्रबाट मूल सडकसँग जोडिने सडक खुला भएको छ ।

जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षे अवधिमा सडक खुल्न सकेको थिएन । अहिले सडक खुलेपछि उपभोक्तामा खुशीको सञ्चार भएको छ । 

‘२०७९ साउन ५ गते महानगरपालिकाका प्रमुख एवं आयोजनाका जग्गा व्यवस्थापन उपसमितिका संयोजक बालेन्द्र शाह ‘बालेन’ले फिल्ड निरीक्षण गर्नुभयो । नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि प्रधानसेनापतिसँग भेटेर समाधानका लागि छलफल गर्नुभयो । यसपछि सडक खोल्ने वातावरण तयार भयो । अहिले क्वाटरको पूर्वतर्फ सिमानाको मूल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको छ,’ आयोजना प्रमुख निर्मलराज बरालले भने ।

काठमाडौं महानगरपालिका–१५ र १६ भित्रको पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भू भगवान पाउ वनस्थली सडक, उत्तरमा वालाजु–वनस्थली चक्रपथ (ट्रयाक रोड) र दक्षिणमा स्वयम्भू–भगवान पाउ–विजेश्वरी हुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको भूगोल आयोजना क्षेत्र हो । आयोजनाभित्र करीब १ हजार ३६९ रोपनी जग्गा छ । 

२०६० वैशाख ५ गते आयोजना क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्न जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट सूचना जारी भयो । यसपछि शहरीकरणबाट विकास व्यवस्थापन र सुविधा वितरणमा समानता ल्याउन आयोजनाभित्रको ७२% प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि छुट्याएर जग्गा विकासको काम थालिएको हो । यसमा २४.४७% सडकका लागि, २.००% पार्क तथा खुला क्षेत्रका लागि, ०.५०% धार्मिक तथा सांस्कृतिक क्षेत्रका लागि र १.०३% भचाखुशी नदीका छुट्याइएको छ ।

आयोजना शुरू हुनुअघि त्यस क्षेत्रमा निजी प्रयोगकर्ताको जग्गाले ९२.४२% भाग ओगटेको थियो । सडकले ४.६५%, कुलोले १.१५%, पर्ती जग्गाले ०.३१% र भचाखुशी नदी १.४७% क्षेत्र ओगटेको थियो । एकीकरण योजनाको माध्यमबाट जग्गा विकास गरी सम्बन्धित जग्गा धनी तथा मोहीलाई सुविधा सम्पन्न घडेरी फिर्ता दिनु आयोजनाको मुख्य काम हो ।

जग्गा विकास गर्ने क्रममा प्रत्येक जग्गा धनीबाट सेवा शुल्कबापत समानुपातिक प्रतिशतका दरले योगदान लिइएको छ । यो दर भनेको खुल्ला क्षेत्रबापत २.५%, पूर्वाधार निर्माणबापत ५%, बाटोबापत ३.३५%, प्रति मिटर सडक र कर्नर प्लटका लागि थप योगदान २.७५ % देखि ९.६ % हो ।
 

salt training

कमेन्ट गर्नुहोस्