२४ असार २०८३, बुधबार

जनसंख्या वृद्धिदर र प्रजनन् दर कम हुनु दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्छ : मन्त्री बस्नेत

असार २६, २०८०
काठमाडौं
जनसंख्या वृद्धिदर र प्रजनन् दर कम हुनु दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसंख्या वृद्धिदर र प्रजनन् दर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताएका छन् ।

विश्व जनसंख्या दिवसका अवसरमा मंगलवार शुभकामना सन्देश दिँदै उनले जनसंख्याको विद्यमान अवस्था हेर्दा समाज परिवर्तित स्वरूपमा गइरहेको समेत बताए । ‘जनसंख्याको असन्तुलित अवस्था हेर्दा पहाडी क्षेत्रमा अनुकूल वातावरण र विकासका अवसर सिर्जना गरी अव्यवस्थित बसाइँसराइँको प्रक्रियालाई रोक्न आवश्यक भइरहेको छ,’ उनले जारी गरेको सन्देशमा भनिएको छ ।

मन्त्री बस्नेतले राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालको जनसांख्यिक संरचनामा केही फेरबदल आएको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा उल्लेख्य सुधार भए तापनि शहरी तथा सुविधासम्पन्न स्थानमा जनसंख्याको बढ्दो चाप, जनसंख्या वृद्धिदरमा देखिएको कमी, ठूलो हिस्सा रहेको आर्थिकरूपले सक्रिय जनसंख्याको उचित परिचालन, लैंगिक विभेद तथा सामाजिक कूरीति व्यवस्थापन गर्न थप कदम चाल्नुपर्ने देखिएको बताए ।

उनले दीगो विकास लक्ष्यले परिकल्पना गरेअनुसार प्रगति हासिल गर्ने गम्भीरतापूर्वक भौगोलिक, क्षेत्रगत र लैंगिक असमानता घटाउने गरी कार्यक्रम अन्तरनिकाय र तीनै तहका सरकार बीचमा दृढ संकल्प सहितको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।

उनले जन्म, मृत्युदर्ताजस्ता व्यक्तिगत घटना दर्ता प्रणाली प्रभावकारी बनाउने, ज्येष्ठ नागरिक लगायत विपन्न तथा आम नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, लैंगिक हिंसा प्रभावितका लागि उपचार तथा परामर्श सेवा पुर्‍याउने र जनसंख्या व्यवस्थापनमा महत्त्वपूर्ण रहेका पक्षमा अध्ययन, अनुसन्धानका कार्यमार्फत नीतिगत सुधारका पहल निरन्तर भइरहेको सन्देशमा उल्लेख गरेका छन् ।

मंगलवार नेपालसहित विश्वभर नै ‘लैंगिक समानतालाई बनाऔं, अपरिहार्य रिवाजः सम्भावनाका ढोका खोल्न सुनौं महिलाको आवाज’ भन्ने नाराका साथ जनसंख्या दिवस मनाइँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्