
हराइरहेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लाम्जुरा चिहानडाँडा क्षेत्रमा दुर्घटना भएको जानकारी प्राप्त भएको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् ।
गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले चिहानडाँडामा दुर्घटनाको खबर आएको लोकान्तरलाई बताए ।
‘लिखुपिके-५ लाम्जुरापासको चिहानडाँडामा दुर्घटनाको थाहा पाएका छौं, दुर्घटनास्थल गाउँपालिकाबाट २५ किलोमिटर जति टाढा छ,’ शेर्पाले भने ।
विदेशीलाई माउन्टेन फ्लाइट गराएर फर्किने क्रममा सम्पर्कविहीन भएको 9N AMV कलसाइन हेलिकप्टर लुक्लानजिकै सुर्कीबाट १०:०५ मा उडेर १०:१० मा सम्पर्कविहीन बनेको थियो ।
चौँरी गोठालाले दुर्घटना भएको देखेर आफूलाई खबर गरेको त्यहीँ नजिकैकी एक होटल सञ्चालिकाले बताइन् ।
'चौँरी गोठालाले देखेर फोन गरेका थिए, अहिले उनीहरूको फोन अफ भएको छ । लाइन नभएकाले चार्ज सकिएको हुनसक्छ,' उनले लोकान्तरसँग भनिन् ।
लिखुपिके-५ का वडाध्यक्ष ङिमा छिरि लामाले पनि हेलिकप्टर दुर्घटनाको जानकारी आएको पुष्टि गरे ।