
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य मुख्य घटनाक्रमसहित उपस्थत भएका छौँ–
वाणिज्य बैंकहरूमा लगानीयोग्य रकम अस्वाभाविक ढंगले बढेको छ । असारमा बढेको सरकारी खर्च, चालू आर्थिक वर्षको ब्यालेसन्सिट मेन्टेन गर्न रोकिएको कर्जा लगानी आदि कारणले वाणिज्य बैंकहरूमा तरलता थुप्रिएको हो ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी सामान्यतया असार महिनामा बर्सेनि तरलता थुप्रिने गरेको बताउँछन् । गत वर्ष कम भएको तरलताको तुलनामा यो वर्ष उल्लेख्यरूपमा तरलता बढेको देखिएको केसीको भनाइ छ ।
००००
आगामी साउन १ देखि बैंकहरुले आफ्नो वित्तीय संस्थाको क्षमता र राष्ट्र बैङ्कको निर्देशिकाको परिधिमा रहेर आफैँ ब्याज निर्धारण गर्ने भएका छन् ।
यसअघि नेपाल बैङ्कर्स सङ्घको सहमतिमा ब्याज निर्धारणको अभ्यास थियो । यससँगै ब्याजदर निर्धारणमा नेपाल बैंकर्स संघ (एनबीए)को कार्टेलिङको समेत अन्त्य भएको छ ।
हालसम्म वाणिज्य बैंकहरुको ब्याजदर तय गर्ने विषयमा एनबीएको बैठकमा उपस्थित प्रमुख कार्यकारी अधिकृतहरुको सहमति बमोजिम सबै वाणिज्य बैंकले लागू गर्दै आइरहेका थिए ।
००००
सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सरकारलाई आदेश दिएको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बिहीवार सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आदेश दिएको हो ।
००००
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ ।
राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो । यसअघि नै प्रतिनिधिसभाबाट बजेट पारित भइसकेको छ ।
००००
कागजातहरु शङ्कास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र आज १८ जना गरी १५६ जनालाई फर्काइएको हो ।
उक्त कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत झङ्कनाथ ढकालले उनीहरुको भिसा परीक्षण गर्दा कतिपयको ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको, कतिपयको व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको देखिएको तर राजदूताबासबाट श्रम स्वीकृतिको बोधार्थ प्राप्त नभएको तथा एउटा देशमा जाने भनेर कागजात पेश गरिएको तर उसको भिसा अर्कै देशको रहेको पाइएकोलगायतका समस्याहरू देखिएको बताए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनका सम्बन्धमा पार्टी उपाध्यक्षसँग छलफल गरेका छन् ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा छलफल गरेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार छलफलमा पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
००००
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको सङ्ख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको स्पष्ट पारेका छन् ।
राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८० को छलफलका क्रममा सांसदहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
००००
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रिय सहमतिबाट सरकार निर्माण गर्न सके देशको राष्ट्रियता, अखण्डताको रक्षा गर्न सकिने बताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले सरकार राष्ट्रिय सहमतिबाट नै सरकार बनाउन सके देशको हित हुने बताए ।
००००
करिब रु ९३ अर्ब ५३ करोड बराबरको लगानी रहने गरी नेपालमा रासायनिक मल कारखाना निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको कार्यालयले बिहीबार एक जर्मन कम्पनीसँग रासायनिक मल कारखाना स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मन कम्पनी डिआग इन्डस्ट्रिज जीएमबीएचका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गरे।
००००
सरकारले भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विकासशील मुलुकहरूको समूह (जी २०) को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को यही असार २६ गते बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो जानकारी दिइन् ।
००००
नक्कली भुटानी शरणार्थी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५९ वर्षीय केशव तुलाधरलाई सानोर्भयाङबाट पक्राउ गरेको हो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन् ।
राष्ट्रपति पौडेलले बिहीवार बिहान राष्ट्रपति कार्यालय परिसरभित्र वर–पीपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका हुन् ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव ९३ मा सीमित भएको छ ।