
प्रमुख प्रतिपक्षी नेकपा एमालेको बागमती प्रदेश इन्चार्जमा गुरु बराल चयन भएका छन् ।
शनिवार बसेको एमाले सचिवालय बैठकले बराललाई बागमती इन्चार्जमा चयन गरेको हो ।
थप केही नेताहरूको पनि जिम्मेवारी हेरफेर गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले वर्तमान सत्ता गठबन्धन संविधानको उल्लंघन गर्ने, संवैधानिक संस्थाहरूमा हस्तक्षेप गर्ने, यिनीहरूलाई विभाजित र निष्प्रभावी बनाउने र लोकतन्त्रलाई जरैदेखि खल्बल्याउने काममा उद्धत भएको आरोप लगाएको छ ।
त्यस्तै कोशी प्रदेशसभामा सत्ता गठबन्धनबाट गरिएको संविधान विरोधी क्रियाकलाप गरेको ठहर गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
उनका अनुसार बैठकले सरकार गठन गर्ने र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नांगो प्रहार भएको ठहर गरेको छ । यस्ता कार्यका लागि एमालेले सत्ता गबठन्धनको भत्र्सना गर्ने उनले बताए ।
असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न उनले माग गरे ।