
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रूपमा सरकारी सेवा लिनसक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन् ।
शान्ति सुरक्षा सुदृढीकरणका लागि आइतवार सिंहदरबारमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले सरकारी संगठनहरूलाई संस्थागत गरी सुदृढ बनाउने काम गरिरहेको बताएका हुन् ।
कर्मचारीको कार्यदक्षता प्रभावकारी नबनाई काम गर् मात्रै भनेर परिणामको अपेक्षा गर्न नहुने उनले बताए । ‘आन्तरिक रूपमा हाम्रा संगठनहरूलाई कसरी संस्थागत काममा लगाउने, कसैलाई पक्षपात भएको अनुभूति गर्न नदिने र अवाञ्छित चलखेलबाट मुक्त राख्न कसरी सबैलाई उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नुपर्छ,' उनले भने, 'कार्यदक्षता प्रभावकारी नबनाई काम गर् मात्रै भनेर परिणामको अपेक्षा गर्न सकिँदैन । डेलिभरी छिटो र सहज ढंगबाट दिन संयन्त्र कसरी परिचालन गर्ने भन्नेमा हाम्रो ध्यान जान जरुरी छ ।’