काठमाडौँ, २८ भदौ- प्रचण्ड नेतृत्वमा सरकार बन्नुअघि माओवादीकै समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री थिए । तर, बजेटपछि सरकार छोड्ने भद्र सहमति ओलीले पालना नगरेपछि बाध्य भएर सरकार छोड्नुपरेको प्रचण्डले बताउँदै आएका छन् । शेर बहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएकै दिन प्रचण्डले गठबन्धन राजनीतिमा इमानदारिता हुनुपर्ने बताएका थिए, जुन ओलीलाई संदेश थियो । नयाँ पत्रिकामा खबर छ |

‘कांग्रेसले दबाब दिएर राजीनामा दिएको होइन । मैले दुवै चरणको निर्वाचन गरेर छाड्छुभन्दा कांग्रेसले नदिनुपर्ने कारण थिएन । एमालेसँग बजेटपछि सरकार छाड्ने र मेरो नेतृत्वमा सरकार गठन गर्ने समझदारी थियो । एमालेका अन्य नेतालाई पनि राम्रैसँग जानकारी छ । एमालेसँगको सहमति पालना नभएपछि नयाँ मोड आयो,’ देउवा प्रधानमन्त्रीमा चुनिँदै गर्दा संसद्मा प्रचण्डले भनेका थिए, ‘नयाँ राजनीतिक संस्कारको विकास गर्न मैले राजीनामा दिएको हुँ । इमान भन्ने कुरा मुखले भनेर हुँदैन, व्यवहारमा स्थापित गरेर देखाउनुपर्छ । संस्कार भनेको व्यवहारमा देखाउन सक्नुपर्छ । मेरो आफ्नै इच्छाले राजीनामा दिएको हो । कसैको दबाबले होइन ।’