
श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन कार्यालयअगाडि प्रदर्शन भएको छ ।
सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी कुवेत, जोर्डनलगायत विभिन्न देश जान लागेका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले विना कारण फर्काएको भन्दै आइतवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको हो ।

विना कारण विदेश जान रोक्ने अध्यागमनको कदमले व्यवसाय गर्न समस्या हुने भन्दै उनीहरूले विरोध गरेका हुन् । संघका अध्यक्ष राजेन्द्र भण्डारीले विना कारण कामदारलाई विदेश जानबाट रोकेका कारण विरोध गर्नु परेको बताए ।
कार्यालयले नागरिकलाई दिएको दुःख र उनीहरूलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन जारी रहने उनले बताए । अध्यागमनले कामदारलाई विदेश जान नदिए व्यवसाय नै बन्द गर्ने उनले चेतावनी दिए ।
उनीहरूले कार्यालयअगाडि नाराबाजी गरेका हुन् ।