
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरू राष्ट्रिय पार्टीको रूपमा उदाएछि विदेशिने नेपालीको संख्या बढेको आरोप लगाएका छन् । मंगलवार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि विदेशिने नेपालीको संख्या थप बढेको बताएका हुन् ।
एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले हो भन्ने जनविश्वासलाई उजागर गरेको उनको भनाइ छ ।
तथ्यहिन रूपमा पूराना पार्टीका कारणले विदेशीने बढे भनेर एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार भएको उनले बताए । 'नेकपा(एमाले) सरकारमा आउँदा रोजगारीका लागि विदेश जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा(एमाले) हो भन्ने जनविश्वासलाई उजागर गर्दछ,' उनले लेखेका छन्, 'तर तथ्यहीन रूपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा(एमाले)लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो। विदेशमा गएकाहरूलाई देश फर्काउँछौं भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए । तर उनीहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदयभएपछि नै विदेशीनेको संख्या झनै बढ्यो । के यसको जिम्मेवारी नेकपा(एमाले)ले नै लिनुपर्ने हो र ?'
नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाडिनुभन्दा एजेण्डाका आधारमा ठीक र बेठिक छुट्याउनेगरी समस्याको समाधान गर्न छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुने उनको भनाइ छ ।