
काठमाडौं, २८ भदौ — भारतको भोपालमा ७६ वर्षीय मोटुमल वासवानी मरेको लगभग पाँच घन्टापछि फेरि बाँचेका छन् । उनको मृत्यु भएपछि उनका परिवारजनले अन्तिम संस्कारको तयारी गरिरहेका थिए ।

उनको शव अस्पतालबाट शववाहनमा हालेर घर ल्याउँदै गर्दा उनी अचानक जुरुक्क उठे र भने, ‘हरि ऊँ, मलाई कहाँ लाँदैछौ ?’
मोटुमललाई भदौ २१ गते हृदयघात भएको थियो । त्यसपछि उनलाई उपचारका लागि भोपालस्थित चिरायु अस्पताल लगिएको थियो ।
सोमवार उनको स्वास्थ्य धेरै बिग्रियो र भेन्टिलेटरमा राखियो । मंगलवार बिहान लगभग ८ बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरे ।
त्यसपछि उनका नातेदारहरू उनको घरमा भेला भए र अन्तिम संस्कारको तयारी गरे । कात्रोसमेत तयार गरियो । मसानघाटमा जलाउने चिता पनि तयार भयो ।
केही नातेदार अर्को शहरबाट आउनुपर्ने भएकाले अन्तिम संस्कार दिउँसो २ बजे गर्ने निर्णय भयो ।
तर मोटुमल त शववाहनमै जुरुक्क उठेर बोल्न पो थाले ।
त्यसपछि उनलाई तुरुन्तै घर लगियो । घरमा रहेका डा शीतल बालानीले उनको चेकअप गरे अनि तत्कालै एलबीएस अस्पतालमा भर्ना हुने सल्लाह दिए ।
एजेन्सी