
भारतमा आगामी वर्ष सन् २०२४ मा लोकसभा चुनाव हुँदैछ । सत्तापक्ष र विपक्षले चुनावी तयारी थालिसकेका छन् ।
देशका विभिन्न राज्य र क्षेत्रमा प्रभाव रहेका २६ राजनीतिक दलले बैठक गरेर आसन्न चुनावमा मिलेर जाने निर्णय लिएका छन् । विपक्षी दल छुट्टाछुट्टै हुँदै प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) लाई पराजित गर्न नसकिने निष्कर्षसहित विपक्षी दल एकजुट भएका छन् ।
यसअघि भारतीय कांग्रेसको नेतृत्वमा यूपीए गठबन्धन भए पनि अब नाम परिवर्तन गरेर इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ एलायन्स अर्थात् संक्षेपमा इन्डिया नामकरण गरिएको छ ।
नयाँ बनेको विपक्षी गठबन्धनमा अरविन्द केजरीवाल, हेमन्त सोरेन, ममता बनर्जी र सिद्दारमैया पनि देखिएका छन् । सारमा भन्दा देशभरका सबै विपक्षी दल इन्डिया गठबन्धनमा समावेश भएका छन् । विगतमा यी दलहरू अलगअलग चुनाव लड्दै आएका थिए ।
मोदीको उदयपछि सत्ताबाट टाढिएको भारतीय कांग्रेसले यसअघि विपक्ष एकताका लागि जस्तोसुकै त्याग गर्न पनि तयार रहेको सन्देश दिएको छ । विपक्षी दलहरू छुट्टाछुट्टै विचारधारा अगालेका भए पनि मोदीविरुद्ध एकै ठाउँमा आएका छन् । प्रदेशमा हुने चुनावमा घोर विरोधी दलहरू पनि मोदीविरुद्ध एकजुट देखिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।