२२ असार २०८३, सोमबार

कैलालीका भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम

साउन ३, २०८०
कैलाली
कैलालीका भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम

कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसारको राजस्व संकलन हुन सकेको छैन । २ भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ । 

कैलाली भन्सार कार्यालयलाई गएको आर्थिक वर्ष २०७९/०८० मा भन्सार विभागले १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकेको थियो तर राजस्व भने ८ अर्ब २९ करोड ६३ लाख मात्र राजस्व उठेको छ । यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए ।

‘लक्ष्यअनुसार राजस्व उठ्न सकेन,’ खड्काले भने, ‘विगतका वर्षलाई हेर्दा राजस्व कम संकलन भएको छ ।’

बैंक तथा वित्तीय संस्थामा देखिएको समस्याका कारण व्यापारिक वातावरण नहुँदा भन्सारबाट आउने र जाने सामानमा कमी भएकाले पछिल्लो समय राजस्व उठ्ने क्रम खस्किएको सूचना अधिकारी खड्काले बताए ।

टीकापुर नगरपालिकाको सीमामा रहेको सत्ती भन्सार कार्यालय खक्रौलाबाट पनि लक्ष्यअनुसार राजस्व उठ्न सकेन । भन्सार विभागले सत्ती भन्सारलाई आव २०७९/०८० मा १६ करोड ९४ लाख, ४२ हजार रुपैयाँ राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकोे थियो । सत्ती भन्सारले ७ करोड ३८ लाख, ८९ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको ४४ प्रतिशत मात्र भएको सत्ती भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरीले बताए ।

‘आर्थिकमन्दी, भन्सार कार्यालयमा क्वारेन्टाइन र प्लान्ट कार्यालय नहुनु पनि कारण हो,’ चौधरी भन्छन्, ‘सत्ती भन्सार कार्यालय खक्रौला भएर आउने भारततर्फको सडक राम्रो नभएकाले पनि भन्सारबाट लक्ष्यअनुसारको राजस्व नउठेको हो ।’

कैलालीका भन्सार कार्यालयबाट आयातबाट मात्र राजस्व उठ्ने गर्छ । यी भन्सार भएर पेट्रोलियम पदार्थ, कपडा, मोटर पार्टस, हार्डवेयरका सामान, चामल, गहुँ, पापड भुजिया, दालमोठ बिस्कुट, आलुजस्ता खाद्य बस्तुको आयात धेरै हुने गरेको छ तर निर्यात भने न्यून मात्रामा हुने गरेको र त्यसबाट नगन्य मात्रामा मात्र राजस्व संकलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

कैलालीको सत्तीमा क्वारेन्टाइन स्थापना हुनुपर्ने भन्दै स्थानीयले दबाब दिँदै आएका छन् । सत्ती भन्सारमा रहेको क्वारेन्टाइन सशस्त्र द्वन्द्वका बेला विस्थापित भएको थियो । ‘त्यो बेला विस्थापित भएका धेरै कार्यालय खुले तर क्वारेन्टाइन पुनःस्थापना हुन सकेन,’ स्थानीय सङ्गम चौधरी भन्छन्, ‘क्वारेन्टाइन नभएका कारण पनि भन्सारले गति लिन सकेन, यहाँका व्यापारीलाई समेत दुःख भएको छ ।’

क्वारेन्टाइन स्थापनाको माग गर्दै उद्योग वाणिज्य संघले गत महिना यहाँ दबाबमूलक कार्यक्रम समेत शुरू गरेको थियो । क्वारेन्टाइन नभएकै कारण परीक्षण गरेर ल्याउनुपर्ने सामान यहाँका व्यापारीले नेपालगञ्ज वा धनगढी भएर ल्याउनुपर्ने बाध्यता छ ।
 

salt training

कमेन्ट गर्नुहोस्