२१ जेठ २०८३, बिहीबार

भद्रकुमारी घले सेवा सदन नभत्काउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

साउन ३, २०८०
काठमाडौं
भद्रकुमारी घले सेवा सदन नभत्काउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले बुधवार सेवा सदनमा भएको अतिक्रमण तत्काल रोक्नका लागि आदेश दिएको हो ।

साथै उच्च अदालतले यही साउन ८ गते पेशी तोकेको छ । निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विपक्षीहरूलाई सुनुवाईमा सरिक गराई निष्कर्षमा पुग्नु मनासिव देखिएको आदेशमा भनिएको छ ।

अदालतले काठमाडौं महानगरका नाममा आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ । ‘निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीलाई आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नुहोला भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीका नाममा म्याद सूचना जारी गरी रितपूर्वक तामेल गराई लिखित जवाफ परे पछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेश गर्नुहोला’ आदेशमा भनिएको छ ।

यता काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर देवीनगरमा रहेको करिब पाँच रोपनी जग्गामा निर्माण भएका सदनका संरचना महानगरले बुधवार भत्काइसकेको छ ।

महानगरपालिका–१० कार्यालयले नापी शाखाबाट नापी बोलाएर जग्गा नापजाँच गर्दा सदनले रुद्रमती किनारको पाँच रोपनी भन्दा बढी पर्ती जग्गा कब्जा गरेर संरचना बनाइ भाडामा लगाएको भेटिएको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्