
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले आम निर्वाचनपछि संयम राजनीति गरेर पार्टीलाई दह्रो बनाउने काममा लागेको भन्दै नेता डा. शेखर कोइरालाको प्रसंशा गरेका छन् । एकले अर्कोलाई गाली गरेर कांग्रेस दह्रो बन्न नसक्ने भन्दै खतिवडाले अरुको अस्तित्व स्वीकार्न आग्रह गरे ।
कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठकलाई बुधवार सम्बोधन गर्दै खतिवडाले कोइरालाको भूमिकाको प्रशंसा गरेका हुन् । ‘शेखरले चुनावपछि संयम राजनीति गरेर, पार्टीलाई दह्रो बनाउँछु भनेर लाग्नुभएको छ, यसका लागि धन्यवाद दिन चाहन्छु’ खतिवडाले भने । १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका कोइराला पछिल्लो समय देउवाको कदमलाई समर्थन गरिरहेका छन् ।
खतिवडाले अन्य दलले मिसन २०८४ को कुरा गर्दा कांग्रेसले मिसन २१०० को नारा लिएर अघि बढ्नु पर्ने बताए । ‘हामी एउटा उपनिर्वाचनबाट डराइरहेका छौं, विहानदेखि बेलुकासम्म एकले अर्कोलाई गाली गरिरहेका छौं । अरुले मिसन २०८४ को कुरा गर्दा हामीले मिसन २१०० को कुरा गर्नुपर्छ’ उनले भने ।