०४ साउन २०८३, सोमबार

बर्खामा रिलिज हुँदा चल्दैनन् फिल्म ?

निर्माताहरूको मनोविज्ञान– अहिले आउन डराउने, पछि भिडाउने
साउन ३, २०८०
काठमाडौं
बर्खामा रिलिज हुँदा चल्दैनन् फिल्म ?

असार महिनाभरमा तीनवटा मात्र नेपाली फिल्म प्रदर्शनमा आए । ८ गते ‘अन्तिम संस्कार’ नामक फिल्म रिलिज भयो ।

१४ गतेबाट ‘परस्त्री’ प्रदर्शनमा आयो । गत शुक्रवार (असार २९) बाट फिल्म ‘बगान’ रिलिज भयो । यससँगै अर्को फिल्म ‘बिहे पास’ पुनः प्रदर्शनमा आयो । 

साउन महिनामा रिलिज हुने फिल्मको संख्या पनि निकै कम छ । ५ गते ‘लुङा’ नामक फिल्म प्रदर्शनमा आउँदैछ । 

सोही दिनका लागि ‘ढाक्रे’ नामक फिल्मले पनि प्रदर्शन मिति तय गरेको थियो, यद्यपि सो फिल्म निर्धारित मितिमा प्रदर्शनमा आउने सम्भावना एकदमै कम देखिएको छ ।

साउन १९ मा ‘अदृश्य’ नामक फिल्म प्रदर्शनमा आउँदैछ । साउनमा यीबाहेक अन्य फिल्मको चर्चा सुनिएको छैन ।

भदौमा भने फिल्म रिलिज गर्नका लागि हानथाप नै देखिएको छ । भदौ १ गतेका लागि फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ले प्रदर्शन मिति तय गरेका छन् । 

उक्त मितिमा यसअघि ‘नम्बरी सुन’ले पनि प्रदर्शन मिति तय गरेकोमा उक्त फिल्म भने पछाडि सर्ने बुझिएको छ ।

भदौ ८ मा ‘जय हो’ नामक फिल्म रिलिज हुनेछ । १४ मा दुई नेपाली फिल्महरू एक आपसमा भिड्नेछन् ।

‘ऐंचोपैंचो’ र ‘गणपति’ फिल्मले प्रदर्शनका लागि उक्त मिति घोषणा गरेका छन् । भदौको २१ गते बलिउड अभिनेता साहरूख खानको फिल्म ‘जवान’ प्रदर्शनमा आउने भएपछि उक्त मिति रोज्न नेपाली निर्माताहरू हिच्किचाइरहेका छन् ।

भदौ २९ मा भने आशातीत दुई नेपाली फिल्म भिड्ने तय भएको छ । ‘नाङ्गो गाउँ’ र ‘एक भगवत् गीता’ले प्रदर्शनका लागि उक्त मिति रोजेका हुन् ।

यसरी हेर्दा भदौ महिनामा ७ वटा फिल्म रिलिज हुने तय अहिल्यै भइसकेको छ । भदौमा यीबाहेक अरू फिल्महरू समेत थपिने सम्भावना देखिन्छ ।

असोज, कात्तिकमा पनि थुप्रै फिल्म प्रदर्शनमा आउनेछन् ।

विगतदेखि नै हेर्दा फिल्म रिलिजका लागि निर्माताहरूको रोजाइमा बिदाको समय पर्ने गरेका छन् । नयाँ वर्ष, तीज, दशैंतिहारमा फिल्म रिलिजको चाप बढी हुने गरेको छ ।

असार, साउन भने विगतदेखि नै निर्माताहरूको कम रोजाइमा पर्दै आएको छ । प्रचार–प्रसार खासै नभएका, तुलनात्मक रूपमा सानो बजेटका फिल्महरू यतिबेला प्रदर्शनमा आउने गरेका छन् । फिल्म क्षेत्रको माहोललाई नियाल्दै आएका पत्रकार रघुनाथ सापकोटा असार–साउनमा फिल्मको खडेरी देखिनु नौलो कुरा नरहेको सुनाउँछन् ।

चलचित्र पत्रकार संघका महासचिव समेत रहेका सापकोटाले भने, ‘विगतमा पनि असार–साउनमा फिल्मको खडेरी हुने गरेको थियो । झरी परिरहने भएकाले दर्शक हलसम्म आउन गाह्रो मान्ने बुझाइ निर्माताहरूमा पाइन्छ ।’

चलेका ब्रान्डका फिल्म यो सिजनमा कमै प्रदर्शनमा आउने गरेका छन् । ‘असार–साउनमा फिल्म चल्दैनन् भन्नेचाहिँ होइन, राम्रो भनिएका फिल्म यति बेला चलाउन निर्माताहरूले आँट गर्दैनन् । सामान्य फिल्म रिलिज हुन्छन्, ती अपेक्षित चल्दैनन्,’ सापकोटा भन्छन् ।

नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन पनि 'हाइप क्रिएट' गरेका फिल्महरू यतिबेला रिलिज गर्न निर्माताहरू डराउने गरेको सुनाउँछन् । यद्यपि, कन्टेन्ट बलियो भएका फिल्महरू बाह्रै महिना चल्ने धारणा उनको छ ।

‘सामान्य फिल्मका लागि त वर्षाले केही हदसम्म असर गर्न सक्छ, तर फिल्म नै राम्रो छ । एक किसिमको हाइप बनाएको छ भने वर्षाले खासै असर गर्छ जस्तो लाग्दैन,’ उनले उदाहरण दिँदै भने, ‘असारमै दर्पण छायाँ फिल्म रिलिज भएर एकदमै चलेको थियो । कन्टेन्ट भयो भने फरक पर्दैन । कन्टेन्ट भएन भने विभिन्न कुराले असर गरिरहेको हुन्छ ।’

राम्रो कन्टेन्ट भएको फिल्मलाई असर नपर्ने भए पनि ठूला फिल्महरू यतिबेला रिलिज गर्न निर्माताहरू डराउने गरेको उनले बताए । रिलिज भएर पिकअप लिइसकेका फिल्मलाई पनि वर्षाले असर नगर्ने धारणा उनको छ ।

उदाहरणस्वरूप वैशाखमा रिलिज भएर अहिलेसम्म चलिरहेको फिल्म ‘जारी’लाई लिन सकिने उनी बताउँछन् । पछिल्लो समय प्रदर्शनमा आएका फिल्महरू नचल्नुको कारण सम्बन्धित फिल्म स्वयं भएको उनको धारणा छ ।

salt training

कमेन्ट गर्नुहोस्