
नेतृत्व परिवर्तनको कुरा उठाएर पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाइरहेका महामन्त्री गगन थापाविरुद्ध कांग्रेस केन्द्रीय सदस्यहरू खनिएका छन् ।
संस्थापन पक्षको बलियो उपस्थिति रहेको केन्द्रीय समिति बैठकमा नेताहरूले गगनसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि चर्को आलोचना गरेका छन् ।
केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा संस्थापन पक्षका सदस्यहरू आक्रामक बन्दा संस्थापनइतर पक्षका नेताहरू रक्षात्मक देखिए ।
मनोनीत केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले देउवाको विकल्प खोज्ने महामन्त्रीकै विकल्प खोज्ने चेतावनी दिइन् ।
‘महामन्त्रीज्यूहरूले केही सपना देखाउनुभएको छ, दुवैलाई विनम्रतापूर्वक आग्रह छ, कांग्रेसलाई बलियो बनाउँदै सही मार्गचित्रमा हिँडाउन हामी सबैको नेतृत्व लिने गरी अगाडि बढ्नुहोला । दायरा फराकिलो नबनाए, जसरी तपाईंहरू कसैको विकल्प खोज्ने भन्दै हुनुहुन्छ, तपाईंहरूको विकल्प खोज्ने दिन आउँछ, हेक्का रहोस्,’ खतिवडाले भनिन् ।
महामन्त्री गगन थापाले सभापति देउवाको विकल्प खोज्नुपर्ने बेला आएको अभिव्यक्ति दिँदै आएका छन् । केन्द्रीय सदस्य खतिवडाले सबै दोष सभापतिलाई नदिन पनि महामन्त्रीद्वयलाई आग्रह गरिन् ।
‘सभापति संस्था हो, हिजो अरू कोही हुनुहुन्थ्यो । आज जुन ढंगले सभापति खराब र हामी असल हौं भनिरहनुभएको छ, तपाईंहरूको त्यो दाबी हास्यास्पद छ । जसै, गठबन्धनको कुरा गर्नुहुन्छ, गठबन्धनमा चुनाव लड्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको थियो, अहिले सबै दोष सभापतिलाई ? पछाडि बसेर सबै गतिविधि मूल्यांकन गरेका छौं, बलियो बनाउने कुरामा समर्थन छ,’ उनले भनिन् ।
केन्द्रीय सदस्य गुरु बरालले पदाधिकारीको बारेमा बोल्नु पर्ने भन्दै आफू बोल्दा लाइभ काट्न आग्रह गरे ।
‘आत्मानुशासन नभएका कारण कांग्रेस कमजोर भयो, पदाधिकारीले बोल्दा, हिँड्दा आत्मसमीक्षा गर्न सके कांग्रेस अनुशासित हुन सक्छ,’ बरालले भने, ‘हामी पुनः परिष्कृत भएर जान जरुरी छ । महामन्त्रीले ल्याएको तालिका चित्र राम्रो छ, तर चरित्रमा हेर्न बाँकी छ । अघिल्लो 'रो'का सदस्यहरू परिष्कृत भएर आउनुस् ।’
केन्द्रीय सदस्य नैनसिंह महरले विगतको प्रचलनविपरीत जिल्ला सभापतिको भेला राखेको भन्दै आपत्ति जनाए । अर्का केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पनि महामन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाए ।
झापामा १ सय जनाको जिल्ला समिति बनेकोतर्फ सोही जिल्लाबाट प्रतिनिधित्व गर्ने महामन्त्री विश्वप्रकाश शर्माले टुलुटुलु हेरेको बुढाथोकीले टिप्पणी गरे ।
रामहरि खतिवडाले कसैको नाम नलिई केन्द्रीय सदस्यले महामन्त्री र महामन्त्रीले सभापतिको आलोचना गर्दा पार्टी दह्रो नहुने बताए । संस्थापन पक्षका खतिवडाले पार्टीमा संयमित भूमिका खेलेको भन्दै शेखर कोइरालाको प्रशंसा समेत गरे ।
केन्द्रीय सदस्य जानकी सिंहले सामाजिक सञ्जालमार्फत नेतृत्वको विरोध गर्ने काम भएको भन्दै विरोध जनाइन् ।
‘सोसल मिडियामार्फत आफ्नै नेतालाई आलोचना गर्ने काम बन्द गर्नुपर्छ । हाम्रै नेताको विरुद्ध सोसल मिडियाबाट बोल्ने गरेका छौं, यसले कांग्रेस कमजोर हुने अवस्था आएको छ,’ केन्द्रीय सदस्य सिंहले भनिन् ।
केन्द्रीय सदस्य हरिशरण नेपालीले पार्टीभित्रको अवस्था देखेर चिन्तित बनेको बताए ।
‘गुटबन्दीले सीमा नाघिसकेको छ । हामीबीचमा लक्ष्मणरेखा कोरिएको छ । कांग्रेस जनताबाट टाढा जाँदैछ । जनता के चाहन्छ, हामीले बुझ्ने कोशिश गरिरहेका छैनौं,’ उनले भने, ‘कांग्रेसभित्रको गुटबन्दीलाई किन मलजल गरिँदैछ, यसले कसलाई फाइदा पुगेको छ ?’
जाबेदा खातुनले एकअर्कालाई गालीगलौज गरेर कमी कमजोरी एउटाको टाउकोमा थुपार्ने प्रवृत्ति कांग्रेसलाई कमजोर गर्ने आधार भएको बताइन् ।
‘पार्टी कमजोर भयो भने सबै जिम्मेवार हुन्छौं । पार्टीलाई सुधार्ने काम पार्टी सभापतिको मात्र होइन, पार्टीको नेतालाई गाली गरेर आफू नेतृत्वमा आउने सोच गलत छ,’ उनले भनिन् ।
मंगलवार शुरू भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले मंसिरको चुनावपछि भत्किएको पुरानो गठबन्धन कसरी पुनः ब्यूँतियो भनेर ब्रिफिङ गरेका थिए ।
महामन्त्री गगन थापाले संगठनात्मक कार्ययोजना पेश गरेका थिए । नेतृत्वको विकल्प खोज्नुपर्ने आवाज उठाउँदै आएका महामन्त्री थापाले राजनीतिक विषयमा भने हिजो केही बोलेका थिएनन् ।
केन्द्रीय सदस्यहरू बोल्ने क्रम अझै सकिएको छैन ।