
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको अवस्थामा बरामद गरेको ८०–१०० किलोग्रामसम्मको अवैध सुन प्रकरणमा ६ जनालाई पक्राउ गरेको छ ।
विभागका महानिर्देशक नवराज ढुंगानाले सुन बरामद गरिएपछि विभागले रातभर अपरेसन सञ्चालन गरी ६ जनालाई पक्राउ गरेको र अन्यको पनि संलग्नताका आधारमा खोजी कार्य भइरहेको जानकारी दिए ।
‘पक्राउ परेकाहरूको नाम अहिल्यै भन्न मिल्दैन, अन्य व्यक्तिको संलग्नता पनि खोजिँदैछ,’ उनले भने, ‘बरामद सुनको शुद्धता जाँच गर्न नेपाल राष्ट्र बैंकमा पठाइनेछ । अहिले सुन जोख्ने काम भइरहेको छ ।’
मोटरसाइकल र स्कुटरको स्पेयर पार्टस्भित्र लुकाएर हङकङबाट कार्गो गरी अवैध सुन ल्याइरहेको विशेष सूचनाका आधारमा बुधवार गठित ‘स्पेसल टास्क फोर्स’ले सुन बरामद गरेको उनले बताए । विभागले विमानस्थलबाट जाँचपास भई बाहिरिएको अवस्थामा सिनामंगलबाट सुन बरामद गरेको हो ।
‘यसअघि नै २–३ राउन्ड सुन ल्याइसकिएको भनेर गोप्य सूचना प्राप्त भएपछि हामीले विशेष टास्क फोर्स गठन गरेका थियौं,’ ढुंगानाले लोकान्तरसँग भने, ‘सोही टास्क फोर्सले बुधवार बिहानदेखि गरेको अप्रेसन लिक भएपछि पक्राउ पर्ने सूचीमा रहेका कतिपय व्यक्ति फरार भएका छन् ।’ फरार भएकाहरूको खोजी कार्य जारी रहेको उनले बताए ।
स्पेयर पार्टस्मा मिक्स भएर सुन ल्याइएको हुनाले सुन र पार्ट्स दुवै छुट्याउन समय लागेको उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार बुधवार दिउँसो ३ः३८ बजे १ हजार ७०५ वटा स्पेयर पार्टस् भन्सारबाट पास भएर गएको अभिलेखमा उल्लेख छ ।
मंगलवार दिउँसो ४ः३९ बजे पनि ट्याक्सीमा १५ सय कार्टुन स्पेयर पार्टस् भन्सारबाट पास भएको थियो ।