१८ असार २०८३, बिहीबार

नयाँ पात्रो प्रकाशनका लागि साउनभित्र विवरण पेश गर्न समितिको आग्रह

साउन ४, २०८०
काठमाडौं
नयाँ पात्रो प्रकाशनका लागि साउनभित्र विवरण पेश गर्न समितिको आग्रह
फाइल फोटो

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो प्रकाशनका लागि साउन मसान्तभित्र विवरण पेश गर्न आह्वान गरेको छ । 

विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेश गर्न समितिले आह्वान गरेको हो ।

पञ्चाङ्गकारले सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहणआदि विषय समावेश भएको पञ्चाङ्ग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो । 

आवश्यक दस्तुर पनि साउन मसान्तभित्र समितिको कार्यालय नारायणहिटीमा बुझाउनुपर्ने गरी सूचित गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । 

मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते गरेको समितिको गठन आदेशको स्वीकृति बमोजिम यो सूचना प्रकाशन गरिएको हो । गठन आदेश बमोजिम समितिको स्वीकृति बिना पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्न पाइँदैन । स्वीकृतिविना प्रकाशन गरिएका पात्रोलाई नियमबमोजिम आवश्यक कारवाही गरिने पनि उनले बताए ।

नयाँ पञ्चाङ्गकारको हकमा आफैंले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्ग गणनाको गणित र विसं २०८१ को गणनाको सबै आधार एवं गणित पनि पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

म्याद नाघी आएका र अङ्ग नपुगेका पञ्चाङ्गलाई स्वीकृति प्रदान नगरिने समितिले जनाएको छ । भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाले पनि समितिको स्वीकृति लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

यससम्बन्धी जानकारी समितिको वेबसाइटबाट पनि लिनसकिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्