१९ असार २०८३, शुक्रबार
करीब सय किलो सुन प्रकरण

विमानस्थलस्थित गोदाममा ५ दिन 'होल्ड' थियो सुन, सेटिङ मिलेपछि ६३ हजार बुझाएर जाँचपास

साउन ४, २०८०
काठमाडौं
विमानस्थलस्थित गोदाममा ५ दिन 'होल्ड' थियो सुन, सेटिङ मिलेपछि ६३ हजार बुझाएर जाँचपास

तस्करी गरी भित्र्याइएको करीब सय किलो (आधिकारिक तौल लिन बाँकी) सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदाममा पाँच दिनसम्म होल्ड गरेर राखिएको खुलेको छ ।

सबै सेटिङ मिलेपछि ६३ हजार रुपैयाँ भन्सार बुझाएर जाँचपास गराई लगिरहेको अवस्थामा बुधवार सुन बरामद गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले दिएको जानकारीअनुसार बरामद गरिएको सुन गत असार २९ गते नै हङकङबाट काठमाडौं ल्याइएको थियो । त्यसपछि सिनामंगलस्थित नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको गोदाममा साउन २ गतेसम्म भण्डारण गरेर राखिएको थियो ।

'५ दिनसम्म गोदाममा राखिएको १६० पीस ब्रेकप्याडको भन्सार शुल्क ६३ हजार रुपैयाँ रेडी ट्रेड प्रालिका सञ्चालक  दिलिप भुजेलले बुझाएको पाइएको छ,' भन्सारका एक कर्मचारीले लोकान्तरसँग भने, 'साउन २ गते भुजेलले भन्सार फारम भरेर उक्त रकम भुक्तानी गरेका थिए ।'

ब्रेकप्याडको भन्सार जाँचपास गर्ने काम भन्सार अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल ड्युटीमा रहेको समयमा भएको ती कर्मचारीले खुलाए ।

'ती दुवैजना कर्मचारीले भन्सार जाँचपास गरी टोटल एक्जिट साउन २ गते दिउँसो ४:११ मा दिएको देखिन्छ,' उनले थपे, 'मंगलवार नै उक्त ब्रेकप्याड ट्याक्सीमा ढुवानी गरेर लगिरहेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो ।'

ब्रेक शुका नाममा सुन भित्र्याउने रेडी ट्रेड प्रा.लि. आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा २०७९ चैत २१ गते मात्र दर्ता भएको पाइएको छ ।

तीन महिनाअघि प्यानमा मात्र दर्ता भएको उक्त कम्पनीको ठेगाना भने बूढानीलकण्ठ नगरपालिकाको पासिकोट रहेको आन्तरिक राजस्व कार्यालयको अभिलेखमा उल्लेख छ ।

कम्पनीको प्यान नम्बर ६१०४७७९७३ उल्लेख गरिएको छ ।

मोटरसाइकल र स्कूटरको स्पेयर पार्टस् तथा दाह्री काट्ने रेजर आयात गरेको देखाएर त्यसभित्र सुन लुकाइएको अवस्थामा विभागको टोलीले बुधवार बरामद गरेपछि अवैध धन्दाको खुलासा भएको हो ।

रेडी ट्रेडर्स कम्पनी दिलिप भुजेलको नाममा दर्ता छ । सुन प्रकरणमा उनी समेत पक्राउ परिसकेका छन् । बुधवार बरामद भएको सुन क्याथे प्यासिफिकको विमानबाट आएको थियो ।

कम्पनीले विमानस्थलमा ‘सेटिङ’ मिलाएर सुन तस्करी गर्ने गरेको पाइएको छ । विमानस्थलबाट जाँचपास भई बाहिरिएको अवस्थामा विभागले सिनामंगलबाट सुन बरामद गरेको हो ।

यस प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन् ।

विभागका महानिर्देशक नवराज ढुंगानाले सुन बरामद गरिएपछि विभागले रातभर अपरेसन सञ्चालन गरी ६ जनालाई पक्राउ गरेको र अन्यको पनि संलग्नताका आधारमा खोजी कार्य भइरहेको जानकारी दिए ।

‘पक्राउ परेकाहरूको नाम अहिल्यै भन्न मिल्दैन, अन्य व्यक्तिको संलग्नता पनि खोजिँदैछ,’ उनले भने, ‘बरामद सुनको शुद्धता जाँच गर्न नेपाल राष्ट्र बैंकमा पठाइने छ । अहिले थप अनुसन्धानको काम जारी छ  ।’

मोटरसाइकल र स्कूटरको स्पेयर पार्टसभित्र लुकाएर हङकङबाट कार्गो गरी अवैध सुन ल्याइरहेको विशेष सूचनाका आधारमा बुधवार गठित ‘स्पेसल टास्क फोर्स’ले सुन बरामद गरेको उनले बताए ।

विभागले विमानस्थलबाट जाँचपास भई बाहिरिएको अवस्थामा सिनामंगलबाट सुन बरामद गरेको हो ।

‘यसअघि नै २–३ राउन्ड सुन ल्याइसकिएको भनेर गोप्य सूचना प्राप्त भएपछि हामीले विशेष 'टास्क फोर्स' गठन गरेका थियौं,’ ढुंगानाले लोकान्तरसँग भने, ‘सोही टास्क फोर्सले बुधवार बिहानदेखि गरेको अपरेसन लीक भएपछि पक्राउ पर्ने सूचीमा रहेका कतिपय व्यक्ति फरार भएका छन् ।’

फरार भएकाहरूको खोजी कार्य जारी रहेको उनले बताए । स्पेयर पार्टसमा मिक्स गरेर सुन ल्याइएको हुनाले सुन र पार्ट्स छुट्ट्याउन समय लागेको पनि उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्