
तनहुँको भानु नगरपालिकाले नगरवासीको घरघरबाट निस्किने फोहोरमैला निःशुल्क रूपमा उठाउने गरेको छ ।
नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहोरमैला उठाउने गरेको छ ।
नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक फोहोरमैला उठाउने गरेको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । ‘घरघरबाट फोहोरमैला उठाएर नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गर्ने गरेका छौं,’ उनले भने ।
नगरपालिकाले विशेषगरी डुम्रे, तुरतुरे, कालिमाटी, पुर्कोट, भन्सार, नारेश्वरटार, बारीफाँट, टुरेपसल लगायत स्थानबाट फोहोरमैला उठाउने गरेको त्रिपाठीले बताए । ‘नगरपालिकाभित्र फोहोरमैलाको दुर्गन्ध फैलिन नदिन निःशुल्क फोहर उठाउने गरेका हौं, सरसफाइ तथा फोहोरमैला सम्बन्धी कार्यविधि बनाउने तयारीमा छौं,’ उनले भने ।
फोहोरमैला भानुका–१ अँधेरीखोला किनार नजिकै व्यवस्थापन गर्ने गरिएको छ । सबै वडाबाट संकलित फोहोरमैला नगरपालिकाकै स्वामित्वमा रहेको ३५ रोपनी जग्गामा व्यवस्थापन गर्दै आएको नगर प्रमुख त्रिपाठीले बताए । उक्त जग्गा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि उक्त जग्गा खरिद गरेको छ ।