
‘लम्पी स्किन’ रोगको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार ९९१ पशुचौपाया मरेका छन् ।
प्रदेशका ९ वटै जिल्लामा ६ लाख ३४ हजार ७९९ पशुचौपायामा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ ।
३ वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन् ।
पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेशमा ६३० पशुचौपायालाई खोप लगाइएको छ ।
‘३ वर्षदेखि लम्पी स्किनबाट पशुचौपाया संक्रमित हुँदै आएका छन्,’ डा. अवस्थीले भने, ‘यस वर्ष पहाडी जिल्लामा कडा खालको संक्रमण देखियो ।’
‘पोक्स’ भाइरसको संक्रमणबाट हुने लम्पी स्किनबाट सबैभन्दा बढी कैलालीमा २ लाख ३३ हजार ५०० पशुचौपाया संक्रमित भएका पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय डोटीका अधिकृत पुष्करराज नाथले जानकारी दिए । कैलालीमा १५ हजार बाच्छाबाच्छी, ८३ हजार ३९३ गाई, २१ हजार ३५१ गोरु र १ लाख १३ हजार ३२७ भैंसी संक्रमित भएका छन् । कैलालीमा लम्पी स्किनबाट हालसम्म ६५७ पशुचौपाया मरेको तथ्यांक छ ।
लम्पी स्किनबाट बझाङमा ४ हजार ६२३ पशुचौपाया मरेका छन् । सबैभन्दा कम कञ्चनपुरमा १८ पशुचौपाया मरेको तथ्यांक छ ।
अछाममा १ हजार ६७८, डोटीमा ३ हजार ६७९, बाजुरामा ७५३ र दार्चुलामा १ हजार ६६९ र डडेल्धुरामा २ हजार ३९६ पशुचौपाया लम्पी स्किनबाट मरेको तथ्यांक छ ।
भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीमा प्रमुख गुमानीदत्त पन्तले रोगको नियन्त्रणका लागि पहल भइरहेको जानकारी दिए । ‘मन्त्रालय र स्थानीय तहको पहलमा औषधि वितरण गर्ने काम भइरहेको छ । पालिकामार्फत पशुपालक किसानलाई औषधि वितरण गरिँदैछ,’ उनले भने । औषधि र खोप अभाव भएको पन्तले बताए ।