०२ असार २०८३, मंगलबार

अव्यवस्थित तारले सवारी आवागमनमा समस्या, तत्काल हटाउन नगरपालिकाको निर्देशन

साउन ५, २०८०
झापा
अव्यवस्थित तारले सवारी आवागमनमा समस्या, तत्काल हटाउन नगरपालिकाको निर्देशन
फाइल फोटो

झापाको मेचीनगर नगरपालिकाले शहर तथा ग्रामीण क्षेत्रका अव्यवस्थित तार हटाउन केबुल तथा इन्टरनेट कम्पनीलाई निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिलाई बोलाएर बिहीवार उक्त निर्देशन दिइएको जानकारी दिए । 

काँकडभिट्टा, धुलाबारी, इँटाभट्टा, चारआली, धाइजन, बाहुनडाँगी, ज्यामिरगढी, दुहागढी लगायतका स्थानका अव्यवस्थित तार व्यवस्थित गर्न निर्देशन दिइएको उनको भनाइ छ । 

“शहर, बजार र सडकभरि जताततै केबुल र इन्टरनेट कम्पनीका तार लत्रिएका छन्, यसले मानिस तथा सवारीको आवागमनमा बाधा पुगेको छ”, उनले भने, “आफैं जानेर व्यवस्थापन गर्नुपर्ने हो । लापरबाहीको हद भएपछि नगरपालिका अब ‘एक्सन’मा उत्रिन परेको हो ।” तत्काल तार व्यवस्थित नगरिए नगर प्रहरी प्रयोग गर्ने उनको भनाइ छ । 

नेपाल टेलिकम काँकडभिट्टाका प्रमुख काजिमान विश्वकर्माले अनुमति र सम्झौता नगरी केबुल तथा इन्टरनेट प्रदायक कम्पनीहरुले नेपाल टेलिकम तथा विद्युत्को खम्बामा जथाभाबी तार टाँगेर व्यवसाय सञ्चालन गरिरहेको आरोप लगाए । “केही कम्पनीले सम्झौता मात्रै गरेका छन्, शुल्क बुझाएका छैनन्,” उनले भने, “अधिकांश कम्पनीले आफूखुसी टेलिकम र विद्युत्को पोल प्रयोग गरिरहेका छन् । पटक–पटक पत्राचार गर्दा पनि सम्झौता र रोयल्टी तिर्न अटेर गरेका छन् ।” 

मेचीनगर क्षेत्रमा नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणको खम्बा प्रयोग गरेबापत केबुल तथा इन्टरनेट कम्पनीले वार्षिक रु १८ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको उनको भनाइ छ । 

गुजुल्टिएका तथा लत्रिएका तारका कारण आगलागी हुने र शहरी सौन्दर्यसमेत बिग्रने हुनाले व्यवस्थित गर्न निर्देशन दिइएको नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्