
चितवन जिल्लामा पशुचौपायमा देखिएको लम्पी स्किन रोग अझै नियन्त्रणमा आउन सकेको छैन । संक्रमणदर केही कम भए पनि नियन्त्रणमा आउन नसकेको हो ।
पछिल्लो समय ७ पालिकामा ९ हजार ५४१ पशुचौपाय प्रभावित भएका छन्, तीमध्ये ९ हजार २०५ गाई र ३३६ भैंसी छन् । जिल्लामा ९३ हजार १८२ गाई र ७२ हजार ९७८ भैंसी पालिएको तथ्यांक छ । तीमध्ये ६ हजार ५३९ गाई र २६० भैंसीमा रोगको संक्रमण देखिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार हालसम्म यस रोगका कारण २२९ वटा गाई मरेका छन् । सबैभन्दा धेरै इच्छाकामना गाउँपालिकामा गाई मरेका छन् भने कम कालिका र खैरहनी नगरपालिकामा मरेको कार्यालयका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार इच्छाकामना गाउँपालिकामा ६५ , भरतपुर महानगरपालिकामा ३५, राप्ती नगरपालिकामा ६२, रत्ननगर नगरपालिकामा ३५, कालिका नगरपालिकामा १०, खैरहनी नगरपालिकामा १० र माडी नगरपालिकामा १२ वटा गाई मरेका हुन् ।
जिल्लाका ३ पालिकामा पालिएका १८ हजार ४० गाईभैंसीमा रोग विरुद्धको खोप दिइएको छ । भरतपुर महानगरपालिकामा ३ हजार ७९०, रत्ननगर नगरपालिकामा ८ हजार २५० र राप्ती नगरपालिकामा ६ हजार गाईभैंसीमा खोप दिइएको उनले बताए ।
विज्ञ केन्द्रबाट प्रभावित क्षेत्रका ५ हजार गाईभैंसीलाई औषधि वितरण गरिएको छ । अन्य पालिकामा जैविक सुरक्षा अपनाउने र अन्य उपचारको काम भइरहेको कार्यालयले जनाएको छ ।
पछिल्ला दिनहरूमा खोप लगाउने पशुपालक किसानको संख्या बढ्दो क्रममा रहेको उनले जानकारी दिए । जिल्लामा पालिएका पशु चौपायामा ७० प्रतिशतलाई खोप लगाएपछि मात्रै नियन्त्रणउन्मुख हुने उनले बताए । उनले भने, ‘अहिले नै नियन्त्रणउन्मुख भन्न मिल्दैन ।’ पहिलेको तुलनामा संक्रमण दर कम भए पनि रोग देखिने क्रम नरोकिएको उनले बताए ।
गर्मीयाममा लामखुट्टे, झिङ्गा लगायतका कारण रोगको जोखिम देखिने गरेको उनले जानकारी दिए । गाईभैंसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा १ देखि ५ सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ ।
यो रोग विशेष गरी संक्रमित लामखुट्टे, झिङ्गा लगायतको टोकाइबाट लाग्ने गर्दछ । संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैंसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकता अनुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने पशु विकास अधिकृत आचार्यले बताए ।