तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् ।
गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् ।
निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति कार्यान्वयनमा ल्याएको छ ।
घिरिङ–१ अत्रौलीका रोमनाथ पोख्रेलले केही समयदेखि निर्वाहमुखीरूपमा अदुवाखेती गरेकोमा अहिले त्यसलाई व्यावसायिक बनाएका छन् । हाल उनले २ रोपनी क्षेत्रफलमा खेती गरिरहेका छन् ।
उनले भने, ‘रोपनीभन्दा माथिको जग्गामा खेती गर्नेलाई अनुदान दिने व्यवस्था ल्याएपछि खेतीलाई विस्तार गरें । अनुदानले हामीजस्ता कृषकलाई राहत मिल्छ ।’
घिरिङ–२ चिन्नेखोलाका शेरबहादुर थापाले पनि शुरूमा निर्वाहमुखी रूपमा मात्रै अदुवाखेती गरेकामा गत वर्षदेखि अदुवा खेतीलाई व्यावसायिक बनाएका छन् । घिरिङ गाउँपालिकाले अदुवाखेती गर्ने कृषकलाई अनुदानको व्यवस्था गरेपछि थापाले अदुवाखेतीलाई व्यावसायिक बनाएको बताए ।
उनले भने, ‘अदुवाखेती गरेको त थुप्रै वर्ष भयो तर बेच्ने हिसाबले भन्दा पनि आफैंले प्रयोग गर्ने गरी खेती गरिरहेको थिएँ तर स्थानीय सरकारले व्यावसायिक रूपमा खेती गर्नेलाई अनुदान दिने व्यवस्था मिलाएपछि यसलाई व्यावसायिक बनाउनेतर्फ लागें ।’
हाल उनले ४ रोपनी क्षेत्रफलमा अदुवाखेती गरिरहेका छन् ।
घिरिङ गाउँपालिकाले अदुवा र बेसारखेती गर्ने कृषकलाई अनुदानको व्यवस्था मिलाएपछि कृषक यसतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले १४४ जना अदुवा कृषकलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले ७ लाख २० हजार वितरण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङमा उत्पादित अदुवा विभिन्न जिल्लामा निर्यात गर्न सकिने बताउँदै कृषक व्यावसायिक बन्नुपर्ने उल्लेख गरे । प्याज ५०० किलो, लसुन २५० किलो र बेसार ५०० किलोभन्दा बढी उत्पादन गर्नेलाई समेत ५ हजार अनुदान दिने व्यवस्था गरिएको अध्यक्ष थापाले बताए ।
उनले भने, ‘कृषकलाई कृषिमा प्रोत्साहन गर्न यो कार्यक्रम शुरू गरिएको हो ।’
सबैभन्दा बढी वडा नम्बर ५ का कृषकले अनुदान प्राप्त गरेका छन् । वडा नम्बर ५ मा ८९ जना, वडा नम्बर ४ मा २, वडा नम्बर ३ मा ४७ र वडा नम्बर २ का ६ जना कृषकले रकम प्राप्त गरेका कृषि शाखा प्राविधिक सहायक समीक्षा ढकालले जानकारी दिइन् ।