काठमाडौंँ, २९ भदौ - सवारी साधनमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा देवनागरी लिपिमा नेपाली भाषाको प्रयोग प्राविधिक रूपमा सम्भव छ । यो कुनै प्राविधिक विज्ञले गरेको दाबी नभई स्वयम् नेपाल सरकारले नै पुष्टि गरी सार्वजनिक गरेको नमुनाबाट सम्भव रहेको प्रमाणित भएको हो ।
गत महिना अर्थात् २०७४ साउन २५ गतेको नेपाल राजपत्र खण्ड ६७ सङ्ख्या २० को भाग ३ मा प्रकाशित नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सूचनाअनुसार देवनागरी लिपिमा लेखिएको नेपाली भाषा प्रयोग भएको विद्युतीय सङ्केताङ्क चिह्न पाटी प्राविधिक रूपमा सम्भव रहेको हो । नेपाल सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७८ ले दिएको अधिकार प्रयोग गरी सो ऐनको अनुसूची २ मा हेरफेर गरी विद्युतीय सङ्केताङ्क चिह्न पाटी विवरण र नमुना नेपाल राजपत्रमा सार्वजनिक गरेको हो ।
राजपत्रमा उल्लेख भएअनुसार राष्ट्रपतिका लागि बेग्लै ढाँचाको विद्युतीय सङ्केताङ्क चिह्न पाटी रहनेछ । राष्ट्रपतिको सवारी साधनका अगाडि र पछाडि रहने त्यस्तो चिह्न पाटीको ढाँचा र रेखाचित्र पनि राजपत्रमा दिइएको छ , गोरखापत्रमा खबर छ ।