
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारवाही गर्नुपर्ने बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरूलाई कडा कारवाही गर्न सरकारलाई आग्रह गरेका हुन् ।
अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टहरूलाई भ्रुणदेखि नै कारवाही गर्नुपर्ने उनको सुझाव छ । मुलुकबाट भ्रष्टाचार पूर्णरूपमा नियन्त्रण गर्न हरेक पार्टीभित्र भ्रष्टाचारविरोधी अभियान शुरू गर्नुपर्ने उनको भनाइ छ ।
महासचिव भुसालले गृहमन्त्री नारायणकाजी श्रेष्ठजस्ता एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टी भित्रैबाट त्यसविरुद्ध अभियान छेड्नुपर्ने बताए ।
समाजवादको यात्रालाई ठीक ढंगले अघि बढाउन पनि हरेकले आफ्नो पार्टीलाई भ्रष्टाचारविरोधी बनाउन सक्नुपर्ने उनको भनाइ छ ।