
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निराशाको व्यापार गर्नेहरूका कारण कांग्रेसका तलका कार्यकर्ता निराश बनेको बताएका छन् । कांग्रेस पहिलो पार्टी बन्दा पनि कार्यकर्ताको मनोभाव जन्तीको जस्तो नभइ फुटबल हारेको टोलीको जस्तो रहेको उनले टिप्पणी गरे ।
कांग्रेस केन्द्रीय समिति बैठकलाई सोमवार सम्बाेधन गर्दै महामन्त्री थापाले संकटको बेला कांग्रेस नेतृत्व सम्हालिनु पर्ने बताएका हुन् । ‘पछिल्लो दिनमा मैले जे महसुस गरेको छु, गाउँदेखि शहरका युवा कहिले पहिला नेपाल छाड्ने भन्ने प्रतिस्पर्धामा छन् । जो बाहिर गयो खुसी छ, जो देशमा छ उ दुखी छ । ठूलो उद्योग गरेको मान्छेदेखि कोही खुसी देख्निन, मानिस निराश देख्छु । होप मरेको जस्तो, विश्वास छैन’ थापाले भने, ‘निराशाको व्यापार गर्नेहरू वरिपरि छन, ती छट्टू छन् । यो नैराश्यबाट नेपाली कांग्रेसीलाई बाहिर निकाल्नु पर्नेछ ।’
देश अप्ठेरो अबस्थामा पुगेको बेला कांग्रेस सभापति शेरबहादुर देउवा गुटभन्दा माथि उठेर काम गर्नुपर्ने बताए । ‘तलका कार्यकर्ताको आत्मविश्वास गुमाएको जस्तो छ, प्रजापरिषद् र कांग्रेस आइ बन्छौ भन्ने चिन्ता छ । सम्हालिने बेला हो, आत्मनिरीक्षण गर्नुपर्छ । चुनाव त जितेका छौं, जितेको बेला जन्तीको जस्तो छैन, फुटबल हारेको जस्तो । कहिलै जित्दैनौ जस्तो’ थापाले भने, ‘कांग्रेस विगतमा पनि यस्तै अबस्थाबाट गुज्रेको थियो । २०४२ सालको सत्याग्रह पछाडि, जनमत संग्रह हारेको बेला पार्टीभित्र चरम निराशा भएको रहेछ । तर, गणेशमान सिंहले जुरुक्क उठाउनु भयो । यस्तो बेलामा पार्टी, पार्टीको नेतृत्व धुप जलाउने बाट बाहिर निस्कनु पर्नेछ ।’