११ साउन २०८३, सोमबार
राउण्ड अप

कांग्रेस बैठकमा गगन–विश्वप्रकाशको एक स्वर, माओवादीमा ५०० रुपैयाँ प्रवेश शुल्क निर्धारण

साउन ९, २०८०
काठमाडौं
कांग्रेस बैठकमा गगन–विश्वप्रकाशको एक स्वर, माओवादीमा ५०० रुपैयाँ प्रवेश शुल्क निर्धारण

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहितउपस्थित भएका छौँ–

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आफ्नो एजेण्डामा अडिग देखिएका हुन् । केन्द्रीय समिति बैठकमा कतिपय नेताहरुले नेतृत्वमुखी अभिव्यक्ति दिँदै आएकामा दुई नेताले भने आफ्नो यसअघिका एजेण्डालाई निर्धक्कसँग बैठकमा राखेर अडान कायम रहेका हुन् । 

उनीहरुको एजेण्डा समानखालको पनि देखिन्छ । संसदीय दलको नेता परिवर्तनदेखि पार्टीका दागीहरुलाई कारबाही, भ्रष्टाचार नियन्त्रण, पुस्तान्तरण जस्ता सवालमा दुई नेता निकट देखिन्छन् । 

थापाले त केन्द्रीय समिति बैठकमा आफू संसदीय दलको नेता परिवर्तन गर्न लागिछाड्ने बताएका छन् । यस्तै थापाले केन्द्रीय समिति बैठकमा आफ्नो १३ बुँदे धारणा समेत प्रस्तुत गरेका छन् । 

बैठकमा सोमबार उपसभापतिसहित महामन्त्रीद्वयले सदस्यहरूले उठाएका जवाफ दिएका थिए ।
जवाफका क्रममा महामन्त्रीद्वयले पार्टीलाई सुदृढ बनाउन नेतृत्वलाई गरिने आलोचना गाली नहुने बताए ।

महामन्त्री र उपसभापतिको जवाफपछि कांग्रेस बैठक १० गते बुधवारसम्मका लागि स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले त्यही दिन बोल्ने बताएका छन् । बैठक स्थगित गर्दै देउवाले भने, ‘त्यही दिन बोल्छु ।’ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २ गतेदेखि बसिरहेको हो ।
००००
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसम्पादन समितिको बैठक साउन १७ गते बस्ने भएको छ । बैठकमा प्रत्येक सदस्यलाई प्रवेश शुल्क ५०० रुपैयाँ निर्धारण गरिएको एक नेताले जानकारी दिए । माओवादीले सर्कुलर नै पठाएर ५०० शुल्क लाग्ने बताएको छ ।

सोमबार महासचिव देव गुरुङले बैठकका सन्दर्भमा ४ बुँदे सर्कुलर पठाएका हुन् । 
माओवादीको केन्द्रीय समिति बैठकमा पार्टी एकतासहित सांगठनिक विषयलाई प्रमुख एजेण्डा बनाइएको छ । 
००००
एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि त्यहाँ पुगेका ओली सोमबार राति स्वदेश फर्किएका हुन् । 

ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरुले स्वागत गरेका थिए ।
००००
राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पाँच दिनपछि नेपाल प्रहरीको सहयोग मागेको छ । 
प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभागबाट माग भइआएकाले हाल प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीलाई अनुसन्धानमा सहयोग गर्नका लागि पठाइएको जानकारी दिए ।
००००
  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन काठमाडौं उपत्यकामा १०१ वटा फार्मेसीको अनुगमन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशन अनुसार मन्त्रालयले २० वटा टोली बनाएर सोमबार उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमनका लागि खटाएको थियो ।
००००
काठमाडौँको सामाखुसी खोलामा आइतबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर अझै फेला परेका छैनन् । 

खोलाले बगाउँदा बेपत्ता भएका बालक मगरको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोली खटिएको र अहिलेसम्म पनि फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
००००
गत आर्थिक वर्ष २०७९–८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ ।
भन्सार विभागले सोमवार सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापार सम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कूल १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख बराबरको व्यापार घाटा व्यहोरेको देखिएको हो ।
००००
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली मोही बनेर जग्गा हिनामिनामा सघाएको आरोपमा सोमवार ललितपुरबाट २ जनालाई पक्राउ गरेको छ । 

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले नक्कली मोही बनेर जग्गा हडप्ने कार्यमा संलग्न रहेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य सुरक्षासम्बन्धी राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गरेका छन् । 
संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमले इटलीको रोममा आयोजना गरेको कार्यक्रमलाई प्रचण्डले सोमवार सम्बोधन गरेका हुन् ।
००००
कोशी प्रदेश सरकार गठनसम्बन्धी रिटलाई सर्वोच्च अदालतको पूर्ण इजलासमा पठाउन आदेश गरिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।
००००
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा भएको रिक्त पदको विवरण पठाउन परिपत्र गरेको छ ।
मन्त्रालयले आइतवार एक परिपत्र गर्दै जिल्ला समन्वय समिति र सबै स्थानीय तहलाई रिक्त पदको विवरण पठाउन भनेको हो ।
००००
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा इन्डोनेसिया प्रस्थान गरेका छन् ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन आइतवार राति करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
००००
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । 

आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बङ्गादेशसँग खेल्नेछ । उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्