
काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको बन्चरेडाँडाका बासिन्दाको स्वास्थ्य संकटप्रति जवाफदेहिता निगरानी समिति (एडब्लूसी)ले चासो व्यक्त गरेको छ ।
मंगलवार विज्ञप्ति जारी गर्दै समितिले त्यस आसपासका बासिन्दाको बसोवासका लागि अविलम्ब उपयुक्त विकल्प खोज्न सरकारसँग माग गरेको हो ।
“फोहोर र मानव बस्ती एकै स्थानमा कदापि रहन सक्दैनन्” भन्ने स्थानीयवासीको एकल माग रहेको छ । यसका निम्ति, प्रभावित स्थानीयवासीको अधिकार र कल्याणलाई उच्च प्राथमिकतामा राखी विद्यमान संकटको निकासका निम्ति उपयुक्त विकल्पको अविलम्ब खोजी गर्न निगरानी समिति सरकार समक्ष विशेष आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
बन्चरेडाँडा क्षेत्रको स्थलगत अवलोकन समेत गरिएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘निगरानी समितिका सदस्यको नेतृत्वमा यही श्रावण २ गते दुवै क्षेत्रको स्थलगत अवलोकन गर्दा उक्त क्षेत्रमा स्वास्थ्य समस्या अत्यन्तै भयावह रहन गएको पाइएको छ । अत्यन्त अव्यवस्थित एवं खुला छोडिएको फोहोरको पहाड, फोहोरको आहालबाट नजिकै बगिरहेको खोलामा मिसिएको दुर्गन्ध, झिँगाको प्रकोप तथा सडकमा बग्ने हानिकारक लेदोका कारण सिसडोल र बन्चरेडाँडावासीहरूको जीवनयापनलगायत यातायात तथा हिँडडुलमा समेत कष्टकर परिस्थिति उत्पन्न भएको छ ।’
‘उनीहरूका जायज मागको अवहेलना गर्दै पटक–पटक गरिएको लिखित वाचा तथा भद्र सहमति पालना गर्ने जिम्मेवारीबाट विमुख भई जवाफदेहिता शून्यताको स्थिति पैदा भएको छ । ल्यान्डफिल साइटको अस्तव्यस्तताका कारण नेपालको संविधान २०७२ द्वारा मौलिक हकको रूपमा भाग ३ मा स्थापित स्वास्थ्य, स्वच्छ वातावरण, तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्यक्ष उल्लङ्घन भएको यस समितिको ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस्, विज्ञप्ति :