१० साउन २०८३, आइतबार

डेंगुको 'हटस्पट' बन्दै धरान: सात जनाको मृत्यु, अस्पतालका बेड भरिएपछि घरमै उपचार गरिँदै

साउन ११, २०८०
विराटनगर
डेंगुको 'हटस्पट' बन्दै धरान: सात जनाको मृत्यु, अस्पतालका बेड भरिएपछि घरमै उपचार गरिँदै

धरान अहिले डेंगु संक्रमणको 'हटस्पट' बनेको छ । धरानमा परीक्षण गरिएकामध्ये ५९ प्रतिशतलाई डेंगु संक्रमण देखिएको छ  । धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताका अनुसार बुधवार साँझसम्म ३ हजार ६०७ जनाको परीक्षण गर्दा १९ सय ७ जनामामा डेंगु पोजेटिभ भेटिएको हो । पोजिटेभिटी दर ५९ प्रतिशत रहेको मेहताले बताए  । 

धरानका ५ वटा वडामा डेंगु फैलिएको छ । उपमहानगरका १८, १७, १६, १५ र ११ नम्बर वडामा परीक्षण गरिएकामध्ये ६५ प्रतिशतमा डेंगु पुष्टि भएको छ ।

एक हप्तादेखि भने एउटै दरमा संक्रमित देखिन थालेका छन् । मेहताका अनुसार एक सातादेखि ५९ प्रतिशत कै हाराहारीमा बिरामी भेटिने गरेका हुन् । 

'डेंगुका बिरामीको संख्या बढेपछि रगतको अभाव देखिन थालेको छ । उपमहानगर आफैँले पनि रक्तदानका कार्यक्रम गरिरहेको छ,' उनले भने, 'विभिन्न संघ संस्थाहरूले पनि रक्तदान गरिरहेका छन् । तर पनि अहिले अभाव नै छ ।' 

डेंगुकै कारण धरानमा ७ जनाको मृत्यु भएको मेहताले बताए । १८, १७, १५ ,११, ५ र २ नम्बर वडामा १/१ जनाको मृत्यु भएको उनले बताए । 

उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार मृत्यु हुनेमा ४ जना दीर्घ रोगी हुन् भने ३ जना निरोगी हुन् । उनका अनुसार जेठ २३  गते धरान १७ की  ३० वर्षीया महिला र असार १५ गते धरान ११ की ४० वर्षीय  महिलाको मृत्यु भएको थियो ।

यस्तै साउन २ गते धरान ११ का ७९  वर्षीय  पुरुष र धरान  १८  का ८४ वर्षीया महिलाको मृत्यु भएको थियो । साउन ३ गते  धरान १० का ५३ वर्षीय पुरुषको मृत्यु भएको थियो । साउन ७  गते भने धरान उपमहानगरपालिका २ का ७७ वर्षीय पुरुष र धरान १० का ५६ वर्षीय पुरुषको मृत्यु भएको  थियो । 

डेंगुका कारण अस्पतालमा पनि बिरामीको भिड बढेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले डेंगु संक्रमितको उपचारका लागि छुट्टै वार्ड र क्लिनिकमा बिरामीको उपचार गर्ने गरेको छ ।

अस्पतालका बेडहरू खाली नभएपछि घरमै स्वास्थ्यकर्मी बोलाएर जाँच गर्न लगाइएको स्थानीयले बताएका छन् । 

२०७६  मा पनि सुनसरीको धरानमा डेंगु प्रकोपको रूपमा फैलिएको थियो । त्यति बेला चार हजार ३ सय जनामा देखिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्