२२ जेठ २०८३, शुक्रबार

पार्क निर्माणमा ३८ लाख भ्रष्टाचार, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा

साउन १२, २०८०
काठमाडौं
पार्क निर्माणमा ३८ लाख भ्रष्टाचार, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिका नगर कार्यपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललित जङ्ग मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

नगरपालिकाको वडा नम्बर २ मा पार्क निर्माण गर्दा अनियमितता गरेको अभियोगमा उनीहरूविरुद्ध आज (शुक्रवार) विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवकता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्लसहित तत्कालीन लेखापाल रुनबहादुर सेजुवाल, कम्प्युटर अपरेटर केशर बहादुर रावल, तत्कालीन इन्जिनियर महेश सिंह कठायत  र तत्कालीन असिस्टेन्ट सव-इन्जिनियर हस्तबहादुर मल्लसमेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । 

यस्तै पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावल र कोषाध्यक्ष बसन्ती रावलविरुद्ध समेत मुद्दा दायर गरिएको हो । 

उनीहरूले जिल्ला वन कार्यालय कम्पाउण्डभित्रको जग्गामा पार्क निर्माण गर्ने अनुमतिसमेत नलिई डिजाइन, नक्सा र लागत अनुमान तयार गर्न लगाई स्वीकृतगरी उपभोक्ता समितिलाई ३८ लाख ४ हजार ५०० पेश्की उपलब्ध गराएको अभियोग पत्रमा उल्लेख छ । 

तर, जिल्ला वन कार्यालयले अनुमति नदिएकोले सम्झौता बमोजिम पार्क निर्माण हुन नसक्ने अवस्थामा उपभोक्ता समितिलाई भुक्तानी भएको पेश्की फर्छ्यौट हुन नसकेको उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

यस्तै उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षले काम हुन नसक्ने अवस्थामा बाँकी पेश्की रकम फर्स्यौट गर्नु पर्नेमा नगरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्लसहित तत्कालीन लेखापाल सेजुवाल, कम्प्युटर अपरेटर रावल, तत्कालीन इन्जिनियर सिंह र तत्कालीन असिस्टेन्ट सव-इन्जिनियर मल्लविरुद्ध ३८ लाख ४७ हजार ५०० रकम बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

यस्तै उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावल र कोषाध्यक्ष बसन्ती रावलविरुद्ध ३३ लाख ८२ हजार ४१७ रुपैयाँ बिगो कायमगरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्