
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठका समकक्षी हुन् रामचन्द्र अर्थात् आरसी चापागाई । उनी अहिले बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु हस्पिटलको बेडमा छट्पटाइ रहेका छन् । उनी रोगसँग मात्रै नभएर आर्थिक अभावसँग पनि जुधिरहेका छन् ।
कम्युनिस्ट कार्यकर्ता रामचन्द्र चापागाई भारतबाट पुष्पलालको अस्तु लिएर नेपाल आएका थिए । नेपालमा आएपछि श्रद्धाञ्जली सभासहित अस्तु विसर्जन गरिएको थियो ।
अहिले उनै चापागाई उपचारका लागि व्यथासँगै आर्थिक अभावको सामना गरिरहनुपरेको छ ।
उनको बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु हस्पिटलमा उपचार भइरहेको छ । पत्नी थानकुमारी र छोरीले उनको स्याहारसुसार गरिरहेका छन् ।
चापागाईका समकक्षी देवेन्द्र घिमिरेले कम्युनिस्ट आन्दोलनका एक योद्धा रामचन्द्र स्याङ्जाबाट कम्युनिस्ट आन्दोलन उठान गर्ने व्यक्ति रहेको बताए । ‘म र उहाँ २०२६ देखि परिचित छौं’ घिमिरेले भने, ‘हामी २०२६ को पक्लिहवामा भएको तत्कालीन कान्डका नामले चर्चित जुलुसमा सँगै थियौं । पार्टी कमिटी अलग–अलग हुने गरे पनि उहाँ निरन्तर कम्युनिस्ट आन्दोलनमा हुनुहुन्छ ।’ पुष्पलाल विचारमञ्चको अध्यक्ष भएर पनि चापागाईले अभियान रुपन्देहीमा चलाएका थिए ।
‘२०३५ सालमा पुष्पलालको अस्तु भारतबाट काठमाडौं ल्याएका बेलादेखि नै उहाँको राजनीतिक सक्रियता गज्जबको थियो । चापागाई लामो समयदेखि बिमार हुनुहुन्छ । उहाँको स्वस्थलाभको कामना छ’ घिमिरेले भने ।
चापागाईको उपचारका लागि सक्दो सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।