२५ जेठ २०८३, सोमबार

१ करोड २० लाखभन्दा बढी मूल्यको भन्सार छलीको सामान बरामद

साउन १३, २०८०
काठमाडौं
१ करोड २० लाखभन्दा बढी मूल्यको भन्सार छलीको सामान बरामद
फाइल फोटो

भन्सार छलेर ल्याएको एक करोड २० लाखभन्दा बढी मूल्यको सामान प्रहरीले बरामद गरेको छ । गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टाबाट शुक्रवार साँझ ७ः३० बजेको समयमा विभिन्न सामान बरामद गरेको हो ।

मेची भन्सार कार्यालयभन्दा लगभग पाँच सय मिटर पश्चिमतर्फ शङ्कास्पद अवस्थामा पार्किङ गरी राखेको ना २ ख ४९०२ नंको मालवाहक कन्टेनरमा उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए ।

सामानसहितको कन्टेनरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा राखिएको उनले बताए । उनका अनुसार आज बिहान कन्टेनर खोलेर सामानको विवरण सङ्कलन गरिएको हो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त गस्ती टोलीले उक्त सामान बरामद गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

कन्टेनरभित्र बौद्धमार्गीले प्रयोग गर्ने काँसको झ्याम्टा, साबुन, हुक्कालगायत सामान रहेको उनले बताए । उनका अनुसार प्रहरीको गस्ती टोली पुग्नुअघि नै कन्टेनरका चालक फरार भएका थिए । “बरामद सामानको आयातसम्बन्धी कुनै बिलबीजक र राजस्व तिरेको कागजात भेटिएको छैन”, रेग्मीले भने, “उक्त कन्टेनर भन्सारबाट कर नतिरी भित्र्याएको हो कि होइन भन्ने बारे अनुसन्धान गरिरहेका छौं ।”

थप अनुसन्धान गरी कानूनी कारवाही लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइने प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले उक्त कन्टेनर भन्सार भित्रबाट नआएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्