
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्य र पार्टी सत्तामा बसेका नेता पारदर्शी भए २०८४ को चुनावमा कांग्रेस प्रमुख दल हुने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनमा कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री खड्काले नेता र कार्यकर्ता पारदर्शी हुँदा पार्टीलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने बताएका हुन् ।
वडादेखि केन्द्रीय तहसम्म राज्य र पार्टी सत्तामा रहेका सबै नेता कार्यकर्ताले पारदर्शी ढंगले काम गर्ने हो भने २०८४ को निर्वाचनमा नेपाली कांग्रेस फेरि एकपटक सबैभन्दा ठूलो पार्टी हुने उनको भनाइ छ ।
नयाँ तथा पुराना कुनै पनि राजनीति दललाई गाली नगर्न कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले ‘राम्रो काम गरौं, पारदर्शी बनौं, पार्टीलाई एकतावद्ध गरी जनताको घर दैलोसम्म पुगौं । देश र जनताको सेवालाई सर्वोपरि मानेर काम गरौं ।’
खड्काले सरकार भ्रष्टाचार र ढिलासुस्तीको विपक्ष र सुशासनको पक्षमा अझ दृढताका साथ प्रस्तुत हुने बताएका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासनको कामलाई सरकारले अभियानकै रुपमा अघि बढाउने मन्त्री खड्काले स्पष्ट पारे ।
‘सरकारले केही कामको शुरुवात गरेको छ, खासगरी भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा दृढताका साथ अघि बढ्दै सरकारले जनताले अनुभव गर्ने गरी काम गर्नेछ ।’ उनले भने ।
विकाश निर्माणका ढिलासुस्तीदेखि पुँजीगत खर्च न्यून हुने अवस्था अन्त्यका लागि सरकारले कठोर कदम चाल्ने समेत तयारीमा रहेको उनले बताए । जनताले दैनिक सेवा लिने ठाउँलाई व्यवस्थित सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउनु सरकारको उच्च प्राथमिकता रहेको उनले उल्लेख गरे । सो अवसरमा उपप्रधानमन्त्री खड्काले गलत काम भए खुलारुपमा आलोचना गर्न र सुधारका लागि सुझाव दिन समेत आग्रह गरे ।
उनले यतिबेला नेपाली राजनीतिको मियो नेपाली कांग्रेस रहेको भन्दै संविधान र लोकतन्त्रका पक्षधर सबै शक्तिलाई साथमा लिएर जाने दायित्व कांग्रेसको भएको बताए ।
सबै नेता तथा कार्यकर्तालाई सोहीअनुरुप काम गर्न उनले निर्देशन समेत दिए । कांग्रेस रुपान्तरणका भनेर हल्लाभन्दा पनि काम गर्नुपर्ने उनको भनाइ थियो ।