
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
कार्यालयमा आवश्यकता अनुसार कर्मचारी अभाव हुँदा सहजरूपमा सेवा प्रदान गर्न समस्या हुने गरेको कार्यालय प्रमुख टेकबहादुर घर्तीमगरले जानकारी दिए ।
कार्यालयमा १८ जनाको दरबन्दीमा ७ जना मात्रै कर्मचारी रहेका उनले बताए । ‘दरबन्दी अनुसार कर्मचारी छैनौं, सेवाग्राहीको चाप हुँदा समयमा सेवा प्रदान गर्न समस्या हुने गर्दछ,’ उनले भने ।
करारमा रहेका ६ कर्मचारी हटेसँगै थप समस्या भएको उनले बताए ।
चालू आर्थिक वर्षदेखि करारमा कर्मचारी नियुक्ति नगर्ने प्रदेश सरकारको नीति रहेको छ । कर्मचारी कम हुँदा कार्यालय बाहेकको समयमा समेत सेवाग्राहीको आवश्यकता हेरी सेवा दिनुपर्ने अवस्था रहेको उनले बताए ।
कार्यालयमा कर्मचारी कम भएपछि पालैपालो बिहान बेलुकाको समयमा सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा लिने गरेको कार्यालय प्रमुख घर्तीमगरले बताए ।
समयमा काम गर्न नसक्दा सेवाग्राहीको गुनासो बढ्न सक्ने भएकाले थप कर्मचारीको व्यवस्थापन गर्न प्रदेश सरकारसँग उनले आग्रह समेत गरे । पूर्वपश्चिम राजमार्गको मध्यभागमा रहेको कार्यालय हुँदा सवारीचालक अनुमतिपत्रका लागि यस कार्यालयमा धेरै सेवाग्राही आउने गरेका छन् ।
कार्यालयले गत आर्थिक वर्षमा ३१ करोड बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा कार्यालयबाट उपलब्ध विभिन्न सेवासुविधा प्रवाह गरेबापत ३१ करोड ६६ लाख ४८ हजार ४५ राजस्व संकलन गरेको कार्यालय प्रमुख घर्तीमगरले जानकारी दिए ।
आव २०७८/७९ मा २६ करोड ६६ लाख ६९ हजार ५४८ राजस्व संकलन भएको थियो । गत आवमा यातायात क्षेत्रको आम्दानी, प्रशासनिक सेवा शुल्क, चालक अनुमतिपत्र, सवारी दर्ता किताब, सवारीसाधन कर संकलन, सवारी आयकर लगायत सेवा शुल्कमा केही रकम वृद्धिसँगै पहिलेको तुलनामा गत आवमा ४ करोड ९९ लाख ७८ हजार ४९७ बढी राजस्व संकलन भएको हो । सवारीसाधन लाइसेन्स नवीकरण, परीक्षणकालीन लाइसेन्स वितरण, स्मार्ट कार्ड लगायत सवारी दर्ता लगायतको सेवा कार्यालयले उपलब्ध गराउँदै आएको छ ।