
गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्षमा उम्मेदवारी दिएका उमेशकुमार खड्का आगामी २०२३–२५ कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन् ।
राजधानी लिसबनमा सहमतिका लागि गरिएको घण्टौं लामो प्रयासपश्चात अध्यक्षसँगै बाँकी अन्य सबै पदहरूमा समेत सर्वसम्मत सहमति जुटेको हो ।
निर्वाचन समितिले निर्वाचन गर्नुभन्दा सकेसम्म सहमति नै गरेर अगाडि बढ्ने योजना बनाएको थियो । त्यसअनुरूप मनोनयन दर्ता गराएका कतिपय उम्मेदवारहरूले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
उम्मेदवारी फिर्ता लिएसँगै सर्वसम्मत सहमतिका लागि बाटो खुलेको थियो । उपाध्यक्ष, सचिव, महासचिव, कोषाध्यक्ष लगायत सबै पदमा सर्वसम्मत सहमति जुट्न सहज बनेको थियो ।
वरिष्ठ उपाध्यक्षमा दिपा काफ्ले र महासचिवमा भुवन कंडेल सर्वसम्मत रूपमा चयन भएका छन् । महिला उपाध्यक्षमा माया पौडेल खरेल र महिला संयोजकमा सरिता शर्मा चयन भएकी छन् । सहमतिका लागि भनेर ९ जना उपाध्यक्ष र ५ जना सचिव चयन गरिएको छ ।
एनआरएनए पोर्चुगलले जुलाई ३० तारिख नवौं राष्ट्रिय महाधिवेशनको निर्वाचन तालिका कार्यक्रम सार्वजनिक गरेको थियो । पोर्चुगलमा करीब ३५ हजार नेपालीहरू बसोबास गरिरहेको अनुमान छ । पोर्चुगलको एनआरएनएमा कम्तीमा २ हजार ५०० सदस्य संख्या आवद्ध छन् ।
