
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पुरीले एक करोड चार लाख तीन हजार ९४१ रूपैयाँ अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले आज (आइतवार) विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो ।
उनीविरुद्ध एक करोड चार लाख तीन हजार ९४१ रूपैयाँ बिगो कायमगरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार पुरी सार्वजनिक सेवा प्रवेश गरेको वि. स. २०५२ साल पुस ९ गतेदिख २०७९ असार मसान्तसम्म एक करोड २० लाख ७७ हजार ७४८ रुपैयाँ आय देखिएकोमा व्ययतर्फ दुई करोड २४ लाख लाख ८१ हजार ६९० रुपैयाँ देखिएको छ ।
पुरीको आय-व्यय हेर्दा एक करोड चार लाख तीन हजार ९४१ रूपैयाँ बराबर सम्पत्तिको स्रोत खुल्न नसकेको अख्तियारले जनाएको छ ।
पुरीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारको दाबी छ ।
साथै उनले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती श्रृजना गिरीको नाममा राखेको अख्तियारले जनाएको छ ।