२७ जेठ २०८३, बुधबार

ओखलढुंगामा ६ महिनामै ४ हजार आँखा रोगीको उपचार

साउन १७, २०८०
ओखलढुंगा
ओखलढुंगामा ६ महिनामै ४ हजार आँखा रोगीको उपचार
प्रतिकात्मक तस्वीर

ओखलढुंगामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ ।

जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिका स्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट उपलब्ध हुने सेवाबाट जिल्लाका गाउँगाउँका नागरिकले सेवा पाएका हुन् । ६ महिनायता ४ हजार ७२५ जनाको आँखाको उपचार गरिएको छ ।

आँखा जाँच, औषधि तथा चस्मा वितरण सेवालाई जिल्लामा सञ्चालित अस्पताल र गाउँगाउँका पालिकास्तरमै पुर्‍याइएको छ । जीवनभर कहिल्यै आँखा परीक्षण नगरेकाले समेत आँखा जाँच गराएर सेवा लिएका छन् भने आँखा नदेख्ने कतिपय शल्यक्रियापछि आँखा देख्ने भएका जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख टीका राईले जानकारी दिए ।

केन्द्रबाट २ हजार ९२२, ओखलढुंगा सामुदायिक अस्पतालमा रहेको केन्द्रबाट ६६९, खिजीदेम्बाको ग्रामीण आँखा केन्द्रबाट ५१२, मोतिराज ग्रामीण आँखा केन्द्र मानेभञ्ज्याङबाट ३४१ र लिखु ग्रामीण आँखा केन्द्रबाट २८१ जनाले आँखाको उपचार गराएको उनले बताए ।

केन्द्रले विगत ६ महिनामा ३८ लाख ५६ हजार आम्दानी गरेको छ । सेवा उपलब्ध गराउँदा ३३ लाख खर्च भएको प्रमुख राईले जानकारी दिए । १७ वर्षअघि स्थापना भएको केन्द्रमा सेवा लिनेको संख्या बर्सेनि वृद्धि हुँदै गएको छ । मासिक झण्डै ६ सयको हाराहारीमा सेवाग्राही उपचारका लागि आउने गरेका छन् । 

जिल्लामा आँखा जाँच तथा उपचार सेवा प्रभावकारी बन्दै गएको सिद्धिचरण नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा रेडक्रसका पूर्व सभापति मोहनकुमार श्रेष्ठले बताए । उनकै पहलमा जिल्लामा सामुदायिक आँखा उपचार केन्द्र स्थापना भएको हो ।  

‘हाल गाउँगाउँमा सेवा पुगेको छ,’ श्रेष्ठले भने । विद्यार्थीको आँखा जाँच तथा उपचार कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तहले अवलम्बन गर्नुपर्ने उनको भनाइ छ । जीदेम्बा, मानेभञ्ज्याङ, लिखु लगायतका स्थानीय तहले आँखा केन्द्र स्थापना गरेर सेवा प्रवाह थालेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्