
काठमाडौं निवासी सुरेन्द्र जोशीले शंखरापुर नगरपालिकालाई एम्बुलेन्स खरिदका लागि २५ लाख रुपैयाँ नगद सहयोग गरेका छन् । एम्बुलेन्स खरिदका लागि गरिएको सहयोगको उच्च मूल्यांकन गर्दै नगरपालिकाले बुधवार एक कार्यक्रमकाबीच उनलाई प्रशंसापत्रसहित सम्मान गरेको छ ।
जोशीको सहयोगबाट स्वास्थ्य उपचारजस्तो मानवीय सेवालाई अझ सहज बनाई एम्बुलेन्सबाट बिरामीहरुलाई समयमै अस्पताल पुर्याउन सहज हुने नगरपालिकाले विश्वास लिएको छ ।

आफ्नो नगरको स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउन आफूले योगदान गर्न पाएकोमा र सो कार्यक्रममा नगरपालिकाले सहजीकरण गरिदिएकोमा जोशीले आभार प्रकट गरेका छन् ।
कार्यक्रममा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, उपमेयर समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, वडा अध्यक्षलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
