
वर्ल्डलिङ्कले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ । इ–स्पोर्टस् समुदायलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले गेमिङ प्याकेज ल्याउन लागेको हो ।
मोबाइल गेमिङ समुदायका लागि प्रतीक्षित मानिएको उक्त प्याकेज केही इ–स्पोर्टस् खेलाडीले परीक्षणका रुपमा प्रयोग गर्दै आएका थिए ।
उनीहरूले उक्त प्याकेज प्रयोग गर्दा पब्जीको लेटेन्सी एकदमै न्यून पाएको खुलासा गरेका छन् । उक्त प्याकेज ‘प्रो गेमिङ वाईफाई सिक्स’ राउटरको साथमा उपलब्ध हुने बताइएको छ । जसले गर्दा इ–स्पोर्टसमा अहिले देखिएको लेटेन्सीको समस्या सम्बोधन हुने अपेक्षा गरिएको छ ।
गेमिङ प्याकेज साउन १८ गते बिहीवार राति ८ बजे भर्चुअल रुपमा सार्वजनिक गर्ने तयारी रहेको वर्ल्डलिङ्क कम्युनिकेशन्सले जनाएको छ ।
वर्ल्डलिङ्कको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेर प्याकेज सार्वजनिक गर्ने कम्पनीको तयारी छ । कम्पनीका अनुसार पब्जीसँगको सहकार्यमा नेपालमै पहिलोपटक यस्तो प्याकेज ल्याउन लागिएको हो । नेपालमा मोबाइल गेमिङमा सक्रिय प्रयोगकर्ताको संख्या ४५ लाख हाराहारी छ ।
जसमध्ये ८० प्रतिशतले मोबाइलबाटै गेम खेल्छन् भने १५ प्रतिशतले पीसीको प्रयोग गर्छन् र ५ प्रतिशतले गेमिङ कन्सोलको प्रयोग गर्ने गरेका छन् ।