
बुटवल उपमहानगरपालिकाले नक्कली लालपूर्जा दिने र गैरकानूनी रूपमा रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात नियन्त्रणमा लिएको छ ।
बुटवल–११ न्यु दुर्गानगर टोल विकास संस्थाले जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको र रकम संकलन गरेको सूचनाका आधारमा मंगलवार दिउँसो पुगेको टोलीले नक्कली लालपूर्जा, रकम संकलन गरेका रसिद, जग्गा रजिस्ट्रेसन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको हो ।
टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र अवैध रूपमा लालपूर्जा वितरण गर्ने र रकम संकलन गर्ने काम गरेकाले सबै कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको भूउपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले जानकारी दिए ।

उनका अनुसार टोल विकास संस्थाको क्षेत्राधिकार बाहिर गएर जग्गा सम्बन्धी काम गरेको पाइएकाले टोल विकास संस्थालाई आवश्यक कारबाही गरिनेछ ।
टोल विकास संस्थाले लालपूर्जाका नाममा १ हजार र अन्य शुल्कहरू लिँदै आएको स्थानीय ललिता गुरुङले बताइन् । उनका अनुसार लालपूर्जा पाउने भन्दै स्थानीयलाई शुल्क तिर्न बाध्य बनाइएको थियो ।