
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बजेट र अधिकार हस्तान्तरण गर्ने कुरामा संघ उदार हुनुपर्ने बताएका छन् ।
राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा बुधवार भएको तहगत सम्बन्ध र समन्वय विषयक प्रादेशिक अन्तक्र्रियामा उनले संघीयताको मर्मविपरीत संघमै अधिकार रोकेर राख्ने प्रवृत्ति हट्नुपर्ने बताए ।
‘बजेट र अधिकार हस्तान्तरण गर्ने कुरामा संघ उदार हुनुपर्छ । अधिकार रोकेर राख्ने प्रवृत्ति हट्नुपर्छ । एक प्रदेश र अर्को प्रदेश जोड्ने मापदण्ड हुनुपर्छ । जनसंख्यालाई पनि आधार बनाएर अर्को तवरले योजना बनाउन सकिन्छ,’ अध्यक्ष तिमल्सिनाले भने, ‘अहिलेको जस्तो बजेट निर्माण गर्ने प्रणालीले विकास हुन सक्दैन, परिवर्तन गर्न जरुरी छ । संघीय सांसद, प्रदेश सदस्य, स्थानीय जनप्रतिनिधिको नाममा बजेट वितरण गर्नेभन्दा व्यस्थित प्रणालीको आधारमा योजनाअनुसार बजेट वितरण गर्ने व्यवस्था हुनुपर्छ । सांसद विधि निर्माण गर्ने कुरामा केन्द्रित हुनुपर्छ ।’
संघीयताको मर्म अनुरुप समन्वयका लागि तीनै तहका जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने बताउँदै उनले राष्ट्रियसभाले संघीयता कार्यान्वयनसम्बन्धी निचोड निकालेर कार्यान्वयनका लागि निर्देशनसमेत गरेको बताए । अध्यक्ष तिमिल्सिनाले ३ तहबीच भएको बजेट, योजना, कार्यक्रम र कार्यालय सञ्चालनमा भएको दोहोरोपना हटाउनुपर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।
बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले अधिकारलाई गाउँमा पुर्याउन संघीयतालाई आत्मसात् गर्नुपर्नेमा जोड दिए । उनले संविधानले परिकल्पना गरेअनुसार सक्रियतापूर्वक संघीयता कार्यान्वयनमा आउन नसकेको टिप्पणी गरे ।
राष्ट्रिय सभामा तीनै तहको प्रतिनिधित्व रहेको बताउँदै प्रदेश सभामुख पाठकले यी सबै समस्याको समाधान गर्ने थलो राष्ट्रियसभा भएको तर्क गरे । उनले तीनै तहको अभिभावकत्व ग्रहण हुने गरी सभालाई सञ्चालन गर्न आग्रह गरे ।