
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि १८ नेताले आआफ्नो धारणा प्रस्तुत गरेका छन् ।
कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा बुधबारदेखि सुरु भएको बैठकमा ती नेताले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका हुन् ।
पार्टीलाई नयाँ जीवन दिने, सङ्गठनात्मक संरचनालाई सानो बनाउने, पार्टीलाई पुनःजागृत गर्ने भन्ने विषयमा केन्द्रित भएर नेताहरूले धारणा राखेको माओवादीका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए ।
बैठकको प्रारम्भमा पार्टी अध्यक्ष दाहालले सङ्गठनात्मक संरचनालाई चुस्त दुरुस्त बनाउने, पार्टी पङ्क्तिलाई वडास्तरमा फर्काउने, तीन महिनाको विशेष अभियान सञ्चालन गर्ने, विधान सम्मेलन गर्ने, सम्मेलनमार्फत पार्टीलाई चुस्त र व्यवस्थित तुल्याउने प्रस्ताव राखेका थिए ।
बैठक लाइभ गर्ने भनिएपनि अन्तिम समयमा पछि हटेको माओवादी बैठक बिहीबार पनि जारी हुनेछ ।
००००
क्विन्टल सुन प्रकरणमा पक्राउ परेका १८ जनामध्ये सबैभन्दा माथिल्लो लेयरमा दावा छिरिङ नै रहेको अनुसन्धानबाट खुलेको छ ।
तिब्बती मूलका बेल्जियन नागरिक छिरिङलाई विभागले ठमेलमा उनैले सञ्चालन गरेको होटल भियानाबाट शनिवार पक्राउ गरेको थियो ।
विभागले उक्त होटलमा छापा मार्दा बरामद भएका विभिन्न कागजपत्र, कारोबारका कागजात आदिको विश्लेषणका आधारमा छिरिङ अहिले पक्राउ परेकामध्ये सबैभन्दा माथिल्लो लेयरमा रहेको खुलेको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए ।
००००
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आगामी ३० दिनभित्र सरकारले विश्वासको मत लिने बताएका छन् । बुधबार शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले उपयुक्त समय हेरेर गठबन्धन दलसँग छलफल गरी विश्वासको मत लिने प्रष्ट पारे ।
उनले अवरुद्ध सदनलाई सञ्चालन राख्न, विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्न तथा रोकिएको बजेटलाई सदनमार्फत कार्यान्वयन गर्नेजस्ता मुख्य कार्य वर्तमान सरकारको रहेको बताए ।
००००
कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखबाट राजीनामा गरेकै भोलिपल्ट बाबुराम गौतम मन्त्री बनेका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा गौतमले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।
मुख्यमन्त्री उद्धव थापाले शपथ लिए लगत्तै उनले तीन जनालाई मन्त्री नियुक्त गरेका छन् । माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका हुन्।
००००
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन गरेका छन् ।
बैतडी जिल्लाको प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित शिवराज भट्ट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा र कैलाली जिल्लाको प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित रामेश्वर चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त भएका छन् ।
यसैगरी कैलालीको प्रदेशसभामा निर्वाचित नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्ति भएका छन् ।
००००
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले खाद्यपदार्थको मूल्यवृद्धि नहुने गरी मुलुकको आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन दिएका छन् ।
मन्त्रालयमा आयोजित छलफलमा उनले आपूर्ति व्यवस्थामा आउन सक्ने समस्या समाधान गर्न आफ्नो पूर्ण साथ र सहयोग रहने स्पष्ट पारे ।
००००
संसदीय सुनुवाइ समितिले ३ देशका राजदूतमा प्रस्तावित व्यक्तिहरूको सुनुवाइ गरेको छ ।
समितिको बुधवार बसेको बैठकले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका राजदूत स्थायी प्रतिनिधिमा नियुक्तिका लागि प्रस्तावित लोकबहादुर थापाको सुनुवाइ गरेको हो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू संसद् अवरोधको पक्षमा नभए पनि सरकारले नै सभामुखलाई बैठक सार्न दबाब दिएको आरोप लगाएका छन् ।
बुधवार एमाले केन्द्रीय कार्यालयमा तुल्सीलाल अमात्यको स्मरणमा आयोजित कार्यक्रममा ओलीले संसद् अवरोध खोल्न सत्ता पक्ष नै तयार नभएको आरोप लगाएका हुन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सडक आन्दोलनमा आउन आग्रह गरेका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सत्ताको फोहरी खेलमा नलागी सडक आन्दोलनमा आउन आग्रह गरेका हुन् ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । बुधबार परिसूचक नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो ।
नेप्सेका अनुसार दुई सय ६९ कम्पनीको ९३ लाख ६१ हजार सात सय ८६ कित्ता शेयर ३५ हजार आठ सय ३५ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८१ करोड २४ लाख ७३ हजार आठ सय ५६ बराबरको कारोबार भएको छ ।
००००
मगर तथा तामाङ समुदायलाई लक्षित गरी दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता भगवती पाण्डे बुधवार पक्राउ परेकी छन् ।
पाण्डेलाई पक्राउ गरेर बयान लिने काम भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अनिल अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले चितवनमा महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएका छन् ।
आफू सांसद निर्वाचित भएको सय दिन पूरा भएको सन्दर्भमा सञ्चालनमा आएको ब्लु बसले जिल्लावासी महिलालाई सहज हुने उनको विश्वास छ।