२० असार २०८३, शनिबार

रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आरोप

साउन १८, २०८०
काठमाडौं
रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आरोप

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोकोे ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखाएको बताएका छन् ।

मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्यवृद्धि र आपूर्तिमा अवरोध सिर्जना गरेको आरोप उनले लगाए ।

‘रूसका लागि हाम्रो स्वतन्त्रता र देशविरुद्धको लडाइँ मात्र होइन,’ जेलेन्स्कीले बुधवार भिडियो सम्बोधनमा भने, ‘युक्रेन विश्वव्यापी विपत्ति विरूद्धमा लडिरहेको छ ।’

‘उनीहरू विश्व खाद्य बजार ध्वस्त होस् भन्ने चाहन्छन्, मूल्य संकट चाहिएको छ, आपूर्तिमा अवरोध चाहिएको छ,’ जेलेन्स्कीलाई उदृत गर्दै अल जजिराले भनेको छ ।

युक्रेनी क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह किपरलाई उदृत गर्दै सीएनएनले जनाएअनुसार बुधवार बिहानै कीएभमा ड्रोन आक्रमण भएपछि ओडेसा क्षेत्रको बन्दरगाह र औद्योगिक संरचनामा क्षति पुगेको थियो । रूस र युक्रेन दुवैले मंगलवार एकअर्कामाथि सीमापार आक्रमण गरेको आरोप लगाएपछि यो कदम चालिएको हो ।
 
यसैबीच युक्रेनले बुधवार बिहान कीएभमा १० वटा ड्रोन खसालेको केही समयपछि नै आक्रमण भएको सीएनएनले जनाएको छ । कीएभ नगर सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले बुधवार बिहान एक टेलिग्राम पोस्टमा किभमाथि १० वटा ड्रोन खसालेको पुष्टि गरेका छन् ।
 
राष्ट्रपति जेलेन्स्कीले आइतवार रूसमा युद्ध ‘बिस्तारै फर्किंदै गएको’ चेतावनी दिँदै यो ‘अपरिहार्य, प्राकृतिक र पूर्णतया निष्पक्ष प्रक्रिया’ भएको बताएका थिए ।

युक्रेनका राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जेलेन्स्कीले भने, ‘युद्धभूमिमा रूसी आक्रामकता दिवालिया भएको छ । रूसी नेतृत्वले १ वा २ हप्तासम्म चल्ने अनुमान गरिएको तथाकथित ‘विशेष सैन्य अभियान’को आज ५२२ औं दिन हो ।

‘युक्रेन मजबुत बन्दै गइरहेको छ । बिस्तारै, युद्ध रूसको प्रतीकात्मक केन्द्रहरू र सैन्य आधारहरूमा फर्किरहेको छ र यो एक अपरिहार्य, प्राकृतिक र बिल्कुल निष्पक्ष प्रक्रिया हो,’ उनले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्