धनुषा, ३० भदौ – प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको प्रचारप्रसार अन्तिम चरणमा पुगेको छ । शुक्रवार राति १२ बजेपछि चुनावी प्रचारप्रसार गर्न पाउँदैनन् । त्यसैले उम्मेदवारहरुले शुक्रवार प्रचारलाई निकै व्यापक बनाएका छन् । प्रदेश नम्बर दुईका जिल्लाहरुमा आज सबै दलका नेता तथा कार्यकर्ताहरु प्रचारप्रसारमा देखिन्छन् ।
प्रचारप्रसारकै क्रममा संघीय समाजवादी फोरमले सिरहा र सप्तरी जिल्लामा पर्ने राजमार्गमा ट्रयाक्टर र्याली निकालेको छ । फोरमका नेता तथा कार्यकर्ताहरु ट्याक्टरमा चढेर र्यालीमा हिँडेका छन् ।
मधेशवादी दलले सिरहा र सप्तीमा प्रचारप्रसारलाई जोड दिएका छन् । धनुषादेखि बारा सम्मको क्षेत्रमा कांग्रेस, एमाले र माओवादीको प्रचारप्रसार बढी देखिन्छ भने सिरहा सप्तरीमा मधेशवादी दलहरुको प्रभाव बढी देखिन्छ । सबै दलका ठूला नेताहरु पनि अहिले तराईमा केन्द्रीत भएका छन् । कांग्रेसका ठूला नेताहरु विहीवारदेखि नै तराईमा छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रवार विहानै त्यता लागेका छन् । माओवादी अध्यक्ष प्रचण्ड सबैभन्दा पहिले सिरहा पुगेका थिए ।