
काठमाडौं, ३० भदौ — पनीर पकौडा एकदमै स्वादिष्ट हुन्छ र बनाउन पनि सजिलो छ । आज हामी पनीर पकौडा बनाउन सिकाउँछौं ।

सामग्री
पनीर ३५० ग्राम
बेसन २०० ग्राम
रातो खुर्सानीको धूलो अलिकति
धनियाँको धूलो आधी चम्चा
नून स्वादअनुसार
चाट मसला डेढ चम्चा
तेल चाहिने जति
विधि
बेसनलाई एउटा भाँडोमा निकालेर त्यसमा रातो खुर्सानी, धनियाँको धूलो, एक ठूलो चम्चा तेल र नून हालेर पानी हाल्नुस् । अब यसको गाढा घोल बनाउनुस् र घोललाई आधा घन्टा त्यत्तिकै राख्नुस् ।
पनीरलाई ससानो टुक्रा पार्नुस् । टुक्राहरूमा चाट मसला दल्नुभए हुन्छ ।
कराहीमा तेल हालेर तताउनुस् ।
बेसनको घोललाई मज्जाले फिँट्नुस् । पनीरको एक चौकोर टुक्रालाई बेसनमा चोप्नुस् र कराहीमा हाल्नुस् ।
एकचोटिमा तीनवटासम्म पकौडा यसरी नै तार्नुस् । गाढा खैरो हुन्जेल तार्नुस् । आगो मध्यम राख्नुहोला ।
तारेको पकौडा एउटा थालमा राख्नुस् । यो तात्तातो पकौडालाई धनियाँ वा गोलभेंडाको अचारसँग खान मज्जा आउँछ ।
माथि बताइएको पकौडाको परिकार चारजनाका लागि ठिक्क हुन्छ ।
एजेन्सी